चुनावको मौसम आफैंमा एउटा रंगमञ्च जस्तै लाग्छ। उम्मेदवारहरू पात्र हुन्छन्, मतदाता दर्शक। यही रंगमञ्चमा सात पुस्तादेखिको नाता खोजिन्छ, गोत्र–थर, पहाड–घर, मेलापात र सहभोजका सूत्र जोडिन्छन्। कतै हात जोडिन्छ, कतै आवश्यक परे खुट्टासम्म ढोगिन्छ। क्षणिक सरसहयोग, देखावटी आत्मीयता र भावनात्मक अपील चुनावी प्रचारका मुख्य अस्त्र बन्छन्। हामी नेपाली, स्वभावैले भावनात्मक भएकाले, यिनै दृश्यमा छिट्टै नतमस्तक हुन्छौं।
उम्मेदवारहरूका प्रतिबद्धता सुन्दा त नेपाल भोलि नै समृद्ध हुने जस्तो लाग्छ—समृद्ध टोल, समृद्ध गाउँ, समृद्ध सहर हुँदै समृद्ध नेपाल। रोजगारी सृजना, पूर्वाधार विकास, सेवा प्रवाह सुधारका वाचा गरिन्छन्। तर यी वाचाहरूको भित्री संरचना कमजोर देखिन्छ। समृद्धि हासिल गर्ने क्रममा हामीले भोगेका चुनौतीहरू: वित्तीय अभाव, दक्ष जनशक्तिको कमी, कमजोर संस्थागत क्षमता, नीतिगत विचलन र कार्यान्वयनको अक्षमता यी विषयमा गम्भीर विश्लेषण सुनिँदैन। समस्या नबोली समाधान सम्भव हुँदैन, तर चुनावी भाषणमा समस्या भन्दा पनि सपनाको बजार बढी सजाइन्छ।
म उम्मेदवारका प्रतिबद्धता पत्याउन चाहन्छु, तर त्यसका लागि प्रतिबद्धतासँगै समस्या र समाधानको स्पष्ट चेत देख्न खोज्छु। उहाँहरूले प्रस्ताव गर्नुभएको योजनामा कति खर्च लाग्छ? त्यो खर्च कहाँबाट जुटाइन्छ? आवश्यक दक्षता र क्षमताको पूर्ति कसरी गरिन्छ? राज्यका स्रोत–साधन सीमित हुँदा प्राथमिकता के हुन्छ? यस्ता प्रश्नमा विश्वसनीय, नवीन र इमान्दार सोच सुन्न चाहन्छु। हालका अभ्यासमा देखिएका विकृति र विचलनलाई सुधार गर्ने स्पष्ट मार्गचित्र बिना प्रतिबद्धता केवल शब्दको जालो मात्र हुन्छ।
इतिहासले देखाएको छ—हामीजस्तै गरिब देशहरूले समृद्धि हासिल गर्दा चमत्कारबाट होइन, स्रोत–साधनको फरक, फराकिलो र दक्ष उपयोगबाट सम्भव बनाएका हुन्। पुराना सिद्धान्त, संरचना, विधि र प्रविधिमा साहसी सुधार नगरी समृद्धि सम्भव छैन। हाम्रो सनातनी सोच, जड अभ्यास र अप्रभावकारी संरचनाले हामीलाई अघि बढ्न दिँदैन। त्यसैले आजको प्रश्न केवल “कति योजना?” होइन, “कसरी?” र “किन?” हो। न्यून स्रोत–साधन र सीमित क्षमताको अधिकतम उपयोग गर्न सक्ने नवप्रवर्तनशील जनशक्ति विकासबारे उम्मेदवारको बुझाइ के हो? यही बुझाइ समृद्धिको वास्तविक आधार हो।
दुर्भाग्यवश, हामी मतदाता पनि आफ्नो भूमिकाप्रति पूर्ण जिम्मेवार छैनौं। मतको मूल्यले शासन, विकास र सेवा प्रवाहलाई दिशा र गति दिन्छ भन्ने सत्यलाई व्यवहारमा उतार्न चुकेका छौं। भावनात्मक अपीलमा बहकिएर सतही उम्मेदवारलाई जिताइदिँदा त्यसको मूल्य पाँच वर्षसम्म तिर्नुपर्छ भन्ने चेत अझै बलियो बनेको छैन।
सुशासन, सामाजिक न्याय र समृद्धिका लागि शासन, विकास र सेवा प्रवाहको प्रविधि र प्रवृत्तिमा आमूल फेरबदल आवश्यक छ। यसको प्रस्थानविन्दु शिक्षा हो।
नवपर्वर्तनशील जनशक्तिको विकास हो।
नवप्रवर्तन नै सीमित स्रोत साधन र दक्षताको पूर्तिका लागि दक्षता अभिवृद्धि र ज्ञानको संकट व्यवस्थापन गर्ने एउटा औजार हो। जसबाट मात्रै वित्तीय खाडलहरू पूरा गर्न फरक उपायहरु फराकिला ढङ्गहरू समाधानका दक्षतापूर्ण र चलाकीपूर्ण तरिकाहरू सिर्जना गर्न सकिन्छ।।

त्यसैले आज उम्मेदवारहरूलाई सोध्नैपर्छ—“तपाईंको शिक्षा क्षेत्रमा रूपान्तरण गर्ने ठोस दृष्टिकोण के हो?”
अब समय आएको छ—भावनात्मक नेपाली भएर सतही उम्मेदवारको पछाडि लाग्ने होइन, सचेत नागरिक भएर गहिरो दृष्टिकोण खोज्ने। हात जोडेर ढोग्ने संस्कृतिबाट प्रश्न सोध्ने संस्कृतितर्फ उन्मुख हुने। तब मात्रै चुनाव रंगमञ्च होइन, भविष्य निर्माणको साझा मञ्च बन्न सक्छ।
राजन पाण्डे
शाखा अधिकृत
कावासती नगरपालिका
शिक्षा युवा तथा खेलकुद शाखा