देवचुली
नवलपुरमा रहेको १०३.८ ह्याप्पी एफ एमको आयोजनामा पाँचौं संस्करणको घडियाल काव्य उत्सवको यहि माघ २८ र २९ गते हुने भएको छ। यस अघि चार वटा संस्करण सम्पन्न गरिसकेको यस घडियाल काव्य उत्सवलाई यस पटक अझ फरक र परिस्कृत तरिकाबाट संचालन गरिने भएको छ।
दुई दिन सम्म आयोजना हुने उत्सवमा अति संकटापन्न जीव घडियाललाई केन्द्रमा राखी संरक्षण सँगै सचेतनाका विभिन्न पाटो समेटिने गरि विभिन्न सरोकारवाला वक्ताहरुको उपस्थितिमा प्यानल बहस हुनेछ।
कार्यक्रमको बारेमा जानकारी गराउनुहुँदै एफ एम प्रवन्ध निर्देशक दिपेश कडरियाले यस उत्सवले घडियाल संरक्षणमा योगदान पुर्याएका संरक्षणकर्मी का अनुभवलाई विद्यालय स्तर सम्म पुर्याएर सचेतनाको स्तरलाई बालबालिकाका माध्यमबाट आम जनसमुदायमा पुर्याउनु उत्सवको लक्ष्य रहेको बताउनुभएको छ।

उत्सवमा पहिलो दिन देवचुली नगरपालिका र आसपासका नगरपालिकाहरूका स्थानीय जनप्रतिनिधि विभिन्न संघसंस्थाका प्रतिनिधि शिक्षक विद्यार्थी र संरक्षणकर्मीहरूको उपस्थितिमा उद्घाटन समारोहसंगै जीव, जीवन र जगत , संरक्षणको भविष्यः बाल मस्तिष्क, वृहत मानसिकता र बाँसुरी र बाँबरी गरि ३ वटा प्यानल बहसको सेसनको साथमा "म जोगाउँछु मेरो प्रकृति " नामक डकुमेन्ट्री सो , फेस पेन्ट र फोटो प्रदर्शनी लगायतको गतिविधि रहनेछ।
यस्तै दोस्रो दिन घडियालको सन्निकटः पानी र पर्याको ज्ञान अन्तर्गत रहेर जिल्लामा रहेको इको क्लवका बालबालिकाहरुको घडियाल गोही अवलोकन तथा फिल्ड भिजिट (घडियाल बासस्थान क्षेत्र, घडियाल प्रजनन् केन्द्र) , हामीले जे देख्यौं : अन्तर मनको वार्ता , पर्या बाल काव्य सरिता लगायतको सेसन रहनेछ।
यसै बिषयमा एफएमका स्टेसन म्यानेजर आदर्श शुसिलले यस कार्यक्रम मार्फत साहित्यको माध्यमबाट विद्यार्थी वर्गमा घडियालको संरक्षणको यथेस्ट जानकारी गराई आम जनसमुदाय समक्ष जैविक विविधताको संरक्षण , पर्या पर्यटनको संरक्षण , वन्यजन्तुको संरक्षणतथा नदी संरक्षण लगायतका विविध विषयहरु समेटिने कुरामा आफु विश्वस्त रहेको बताउनुभएको छ।
ह्याप्पी एफ.एमले दुर्लभ एवं अति संकटापन्न जीव घडियाल गोहीको संरक्षण तथा प्रकृति, जैविक विविधता एवं पर्यावरण शिक्षाका लागि वि.सं. २०७५ सालबाट घडियाल काव्य उत्सव सञ्चालन गर्दै आइरहेको छ ।