आदरणीय एमाले, कांग्रेस लगायत अन्य दल निकट युवा सङ्घ तथा विद्यार्थी संगठनका समर्थक तथा सक्रिय सदस्यज्यूहरू।
सादर नमस्कार,
म पेशाले राष्ट्रसेवक कर्मचारी हुँ। पेशागत व्यावसायिकताको मर्यादाभित्रका मेरा सीमाहरू बुझेको छु। त्यही सीमाभित्र रहेर आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतनाको आलोकमा मात्र आफ्ना कुरा राख्ने अनुमति चाहन्छु। तपाईँले २ मिनेट समय मलाई दिनुहुनेछ भन्ने विश्वास लिएको छु।
म विश्वस्त छु। अहिलेको युवा पुस्ता शक्ति, अधिकार, स्रोत साधन र जिम्मेवारीको दास हुँदैन। यो पुस्ताले त चेतना बोल्न सक्छ। विवेकको उचाइबाट आफूलाई पृथक देखाउन सक्छ। आश र त्रास विहीन सङ्घर्षका लप्काहरूलाई सहँदै फरक मूल्यहरू स्थापित गर्न सक्छ।
आदरणीय साथीहरू,
राजनीतिले पुराना मूल्यहरूको निरन्तरतामा रमाउँदैन। यसले त आर्थिक सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि नयाँ मूल्यहरूको सिर्जना गर्न सक्नुपर्छ। त्यसैले राजनीति गतिशील हुन्छ। सिद्धान्त र अभ्यासहरू रूपान्तरित हुँदै जान्छन्।
राजनीतिक दलहरू समाज सापेक्ष नयाँ मूल्यहरू निर्माण गर्ने अगुवा शक्ति हुन्। जुन राजनीतिक दलले समय र समाज सापेक्ष नयाँ मूल्य निर्माण गर्न र नयाँ जनअपेक्षितमूल्यलाई स्वीकार गर्न सक्दैन त्यसले आफूलाई सानो, साँगुरो र सक्ने दिशामा जान्छ।
आदरणीय साथीहरु,
सत्यको नजिक पुग्न कुनै पनि घटना, परिवेश, वस्तुलाई तठस्थ भावले हेर्न सक्नुपर्छ। लक्षणमा होइनहोइन कारणको पहिचान, सम्बोधन र निराकरण गर्न सक्नुपर्छ। यसै सन्दर्भमा देशको हालको अवस्थाका कारणहरू के हुन्? यसका लागि जिम्मेवार को हुन् ? वस्तुगत अवस्था के छ? तथ्यका आधारमा हेर्ने प्रयास गरौं।
- हामी विधिको शासनको सूचकाङ्कमा किन पछाडि छौँ?
- भ्रष्टाचार न्यूनीकरणको सूचकाङ्कमा किन पछाडि छौँ?
- विश्वव्यापी प्रतिस्पर्धाको सूचकाङ्कमा किन पछाडि छौं?
- विद्युतीय शासनको सूचकाङ्कमा किन पछाडि छौं ?
- न्यून प्रतिव्यक्ति आयको अवस्था किन छ ?
- गरिबीको रेखामुनिको जनसङ्ख्या अझै पनि उच्च किन छ?
- कृषि कर्मप्रतिको विकर्षण किन बढेको छ ?
- आधारभूत खाद्य पदार्थमा परनिर्भरता किन बढेको छ?
- स्वदेशभित्र रोजगारीको अवसर किन साँघुरो छ?
- सामान्य जीविकाका लागि युवा शक्तिको पलायन किन आकासिएको छ ?
- विकासका योजनाहरू शक्तिशाली नेताको क्षेत्र केन्द्रित किन भयो ?
- उद्योगहरू किन सागुरिदै गए ?
- निर्यात क्षमता किन हाम्रो निम्छरो अवस्थामा छ ?
- उपभोगमुखी आयात किन आकासिएको छ ?
- आयात र उपभोगमा आधारित राजस्वले हामीलाई कहाँ पुर्याउँछ ?
- उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीले किन निरन्तरता पायो ?
- सार्वजनिक स्वास्थ्य सुविधाको अवस्था किन कमजोर छ ?
- सहरहरू किन योजनाबद्ध र दिगो रूपमा बन्न सकेन ?
- आर्थिक सामाजिक र सांस्कृतिक विभेद अझै पनि किन छ?
- आय र सम्पत्तिको वितरण असमान भई सिमित व्यक्ति मात्र धनी हुने अवस्थाको सिर्जना कसरी भयो ?
- बजारमा स्वस्थ प्रतिस्पर्धा किन छैन ?
- सिन्डिकेट र कालाबजारीलाई कसले संरक्षण गरेको छ ?
- अनौपचारिक अर्थतन्त्र ठूलो आकारमा किन हुन सम्भव भयो ?
- न्यून विजकीकरण, तस्करी, हुन्डी कारोबार, सहकारी ठगी आदिमा नागरिकले महसुस गर्ने गरी नियन्त्रण किन हुँदैन ?
- बजेटको विनियोजन र कार्यान्वयनमा सदारूपमा सरकार किन आलोचित हुनुपर्यो ?
- भरपर्दो सुरक्षित र धान्न सकिने आधुनिक सूचना प्रविधि मार्फत हरेक आर्थिक कारोबारलाई नियन्त्रण गर्ने पद्धति अपनाउन किन ढिला गरिएको छ ?
- समावेशीकरणको नीति अभ्यास र नतिजाको बीचमा ठूलो खाडल किन देखियो ?
- किन समावेशीकरणको फल आम मान्छेको पहुँचमा पुगेन ?
- सुशासन, सार्वजनिक सेवा प्रवाहको गुणस्तर, सुरक्षा व्यवस्थापन, भ्रष्टाचार न्यूनीकरण, सामाजिक न्याय, शीघ्र न्याय निरूपण आदि पक्षहरूमा नागरिकहरूको गुनासोलाई किन आत्मसाथ गरिएन ?
आदरणीय साथीहरु,
माथि उल्लेखित सवालहरूको कारण खोजौँ । यिनै सवालहरू हाम्रो शासन, विकास र सेवा प्रवाह सुधारका प्राथमिक कार्यसूची हुन्। दोष झोसाझोस् ,जस खोसाखोस नगरौँ।
अन्तिममा मेरो अनुरोध,
सत्यलाई कार्पेट मुनि छोपेर कुतर्क गरेर सत्य र सुधारको बाटो सम्भव छैन। नेता र नेतृत्वको मूल्याङ्कन माथिका अवस्थाहरूको सापेक्षतामा गर्दै जेन्जी आन्दोलनको लक्षणलाई होइन कारणलाई न्याय गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।
शुभ समय।
उही तपाईँहरूको शुभचिन्तक
राजन पाण्डे
कावसोती नवलपरासी