नवलपुर
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि चुनावी मैदानमा होमिएका नवलपुर १ का उम्मेदवारहरूका बीचमा प्रत्यक्ष संवाद "ककस" कार्यक्रम सम्पन्न गरिएको छ । नवलपुरमा क्रियाशील जेसीजका पाँचवटा शाखाको संयुक्त आयोजनामा ककस कार्यक्रम गरिएको हो ।
जिल्लामा रहेको नवलपुर जेसीज, देवचुली जेसीज, बुलिङटार जेसीज, रजहर जेसीज र गैडाकोट जेसीजको संयुक्त आयोजनामा कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको सम्वाद कार्यक्रममा उम्मेदवारी दिएका १६ जना उम्मेदवारमध्ये ११ जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकचन्द्र वस्ताकोटी, नेशनल रिपब्लिक नेपालका विष्णुमान बिक, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम, नेपाल कम्युनिस्ट पार्टी माओवादीका बेलबहादुर सारू, श्रम संस्कृति पार्टीका भीमचन्द्र गुरुङ, नेकपा एमालेका भागीरथ सापकोटा, राष्ट्रिय जनमुक्ति पार्टीका शत्रुघन थापा मगर, नेपाली कम्युनिस्ट पार्टीका लोकप्रसाद भुर्तेल, नेपाली कांग्रेसका बालकृष्ण घिमिरे, राष्ट्रिय जनमोर्चा पार्टीका चन्द्रदत्त सापकोटा र उज्याल नेपाल पार्टीकी पार्वती गुरुङसेनीको सहभागिता रहेको थियो। प्रत्यक्ष संवाद कार्यक्रममा उम्मेदवारहरूलाई आफ्ना एजेण्डा तथा प्रतिबद्धताहरू राख्नका लागि ८ मिनेटको समय छुट्याइएको थियो। उम्मेदवारहरूले बोलिसकेपछि दर्शक दीर्घाबाट लिखित रूपमा प्रति उम्मेदवार तीनवटा प्रश्नहरू उम्मेदवारलाई सोधिएको थियो।

संवाद कार्यक्रममा बोल्ने उम्मेदवारहरूले नवलपुरको विकास, कानुनका जटिलताहरूको संशोधन, सुकुम्बासी समस्याको समाधान, मध्यवर्ती क्षेत्रको समस्या समाधान, नवलपुरको पर्यटकीय सम्भावना र प्रवर्धन, आर्थिक विकासका लागि उद्योग धन्धाको स्थापना, स्वरोजगारमूलक कार्यक्रम आँफूहरूको प्राथमिकतामा रहेको बताएका थिए। बोल्ने क्रममा उम्मेदवारहरूले आफ्नो व्यक्तिगत, सामाजिक तथा राजनीतिक पृष्ठभूमिको बारेमा समेत चर्चा गरेका थिए।

नवलपुर जेसीजका पूर्व अध्यक्ष राधिका भुसालले सञ्चालन गर्नुभएको प्रत्यक्ष संवाद कार्यक्रममा गैडाकोट जेसीजका ईश्वर पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बुलिङटार जेसीजका भरत घिमिरेले जेसीज आस्थापाठ गरेर सुनाउनुभएको थियो। कार्यक्रम देवचुली जेसीजका अध्यक्ष जीवन भुसालको अध्यक्षतामा सम्पन्न गरिएको थियो।

कार्यक्रममा नवलपुर जेसीजका अध्यक्ष बिमलकुमार जोशी तथा पदाधिकारीहरू, बुलिङटार जेसीजका अध्यक्ष भेषराज झेंडी तथा पदाधिकारीहरू, रजहर जेसीजका अध्यक्ष जीवन शर्मा पौडेल र पदाधिकारीहरू, देवचुली जेसीजका पदाधिकारीहरू र गैडाकोट जेसीजका अध्यक्ष ईश्वर पौडेल तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।