गणित शिक्षा परिषद् नवलपुरको आयोजनामा बुधबार जिल्ला स्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता वरचुली माध्यमिक विद्यालय, देवचुली–१७ मा आयोजना गरिएको हो।
प्रतियोगितामा जिल्लाभित्रका ३७ विद्यालयका ६६ टोलीको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको उद्घाटन सत्रमा शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख, कास्की र चितवनबाट पाल्नु भएका अतिथिहरू, शिक्षक महासंघ नवलपुरका अध्यक्ष, गैंडाकोट नगरपालिकाका शिक्षा अधिकृत लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक तथा कार्यसमिति सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै वरचुली माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ भने भीमसेन आदर्श नमूना माध्यमिक विद्यालय द्वितीय स्थानमा रहेको छ। त्यसैगरी ज्ञानोदय माध्यमिक विद्यालय तृतीय स्थानमा रह्यो।
सान्त्वना स्थान जनक नमूना माध्यमिक विद्यालय, सकलादेवी माध्यमिक विद्यालय तथा विश्व ज्योति आवासीय माध्यमिक विद्यालयले प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गरेका वरचुली माध्यमिक विद्यालय तथा भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरू प्रदेश स्तरीय गणितीय हाजिरीजवाफ प्रतियोगिताका लागि छनोट भएका छन्। छनोट हुन सफल विद्यार्थीहरूलाई आयोजकले हार्दिक बधाई तथा आगामी सफलताको शुभकामना व्यक्त गरेको छ।

कार्यक्रम व्यवस्थापनमा वरचुली माध्यमिक विद्यालय परिवारको विशेष योगदान रहेको थियो। प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण विद्यालय, शिक्षक, विद्यार्थी तथा सहयोगीप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।