देवचुली
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाका स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा देवचुली नगरपालिका शीर्ष स्थानमा उक्लिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार देवचुलीले ७०.२२ अङ्क प्राप्त गर्दै जिल्लाका आठ पालिकामध्ये सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको हो।
उक्त मूल्याङ्कनमा विनयी त्रिवेणी गाउँपालिका ६८.४६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने हुप्सेकोट गाउँपालिकाले ६७.५९ अङ्क ल्याउँदै तेस्रो स्थान सुरक्षित गरेको छ। कावासोती नगरपालिका ६३.३१ अङ्कका साथ चौथो स्थानमा छ।
त्यसैगरी गैंडाकोट नगरपालिका ५९.६४ अङ्कसहित पाँचौं, मध्यविन्दु नगरपालिका ५८.५२ अङ्कसहित छैटौं र बौदीकाली गाउँपालिका ५७.१८ अङ्कसहित सातौं स्थानमा रहेका छन्। बुलिङटार गाउँपालिकाले ५५.७५ अङ्क प्राप्त गर्दै जिल्लाभर सबैभन्दा कम अङ्क ल्याएको छ।
आयोगले स्थानीय तहहरूको मूल्याङ्कन १७ वटा सूचकका आधारमा गरेको जनाएको छ। बजेट समयमै सार्वजनिक र पारित गरे/नगरेको, प्रदेश सरकारलाई दिनुपर्ने राजस्वको ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको, आगामी आर्थिक वर्षको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा पेश गरे/नगरेको तथा कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरे/नगरेकोजस्ता विषयहरू मूल्याङ्कनका प्रमुख आधार बनेका थिए।
यसका अतिरिक्त राजस्व परिचालनको अवस्था, बजेट खर्च प्रगति, बेरुजु, सूत्र सफ्टवेयरको प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, गर्भ जाँच गराउने महिलाको अनुपात, एसइई नतिजा तथा खोप लगाइएका बालबालिकाको प्रतिशतलाई समेत मूल्याङ्कनमा समेटिएको आयोगले जनाएको छ।