नवलपुर
नवलपुरमा कक्षा ८ का लागि प्रश्नपत्र निर्माण र नतिजा विश्लेषणसम्बन्धी तीन दिने कार्यशाला सुरु भएको छ। शिक्षा विकास तथा समन्वय इकाइ नवलपरासी (ब.सू.पूर्व) को आयोजनामा कावासोतीस्थित ज्ञानोदय माध्यमिक विद्यालयको सभा हलमा माघ २६, २७ र २८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा चार नगरपालिकाका शिक्षकहरू सहभागी भएका छन्।
गैँडाकोट, कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाबाट विज्ञान, सामाजिक, नेपाली, अँग्रेजी, गणित, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयका शिक्षकहरूको उपस्थिति रहेको छ। कार्यशालाको उद्देश्य आधारभूत तह (कक्षा ८) को परीक्षा प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र पाठ्यक्रममैत्री बनाउनु रहेको बताइएको छ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दिपेन्द्रराज श्रेष्ठले प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रमका उद्देश्यहरूलाई पूर्ण रूपमा समेट्नुपर्नेमा जोड दिनुभयो। उहाँले ज्ञान, बोध, प्रयोग, सिर्जनात्मकता तथा उच्च दक्षता जस्ता पक्षहरू समावेश गर्नुपर्ने र प्रश्नहरू सरल, मध्यम तथा कठिन स्तरका सन्तुलित रूपमा तयार गर्नुपर्ने धारणा राख्नुभयो। साथै, विशिष्टीकरण तालिकाको प्रयोग अनिवार्य गर्नुपर्ने विषयमा पनि उहाँले स्पष्ट पार्नुभयो।
ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतनाथ अधिकारी तथा भिमसेन आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अग्नीधर भुषालले प्रश्नपत्र निर्माण प्रक्रियामा गम्भीरता र जिम्मेवारी आवश्यक रहेको उल्लेख गर्नुभयो।
इकाइ प्रमुख श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण परीक्षा शाखा प्रमुख सन्तोषी भण्डारीले गर्नुभएको थियो। कार्यशाला तीन दिनसम्म विभिन्न प्राविधिक सत्रहरूसहित सञ्चालन हुनेछ।