प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि नेकपा एमालेले नवलपुर जिल्ला संघीय निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्ष उम्मेदवार सिफारिस प्रक्रियालाई तीव्र बनाएको छ। पार्टी केन्द्रको निर्देशनअनुसार बसेको क्षेत्रीय समन्वय समितिको दोस्रो पूर्ण बैठकले प्रत्यक्ष उम्मेदवार चयनका लागि नाम सिफारिस गर्दै जिल्ला र प्रदेश कमिटीमार्फत केन्द्रमा पठाउने निर्णय गरेको हो।
सिफारिस प्रक्रियामा नाम आएका सागर न्यौपाने जेनजी आन्दोलन पछी प्रत्यक्ष उम्मेदवारको रुपमा आठजना भित्र पर्दा एमालेभित्र उनको संगठनात्मक प्रभाव र राजनीतिक पकडको संकेतका रूपमा हेरिएको छ। यो उम्मेदवारीले उनि चर्चामा छन्।

जेन–जी आन्दोलनदेखि प्रतिनिधिसभा यात्रासम्म: सागर न्यौपाने
प्रत्यक्ष उम्मेदवार सिफारिस सूचीमा परेका युवा नेतामध्ये सागर न्यौपाने सबैभन्दा बढी चर्चामा रहेका नाम हुन्। स्पष्ट वैचारिक धार, संगठनप्रतिको प्रतिबद्धता र निरन्तर संघर्षबाट खारिएका नेताका रूपमा उनी जिल्ला हुँदै केन्द्रसम्म चिनिएका छन्।
उनको राजनीतिक यात्रा २०६३ सालदेखि अनेरास्ववियुबाट सुरु भएको हो। उनि अनेरास्ववियु नवलपरासी जिल्ला सदस्य २ कार्यकाल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य १ कार्यकाल, नेकपा एमाले जिल्ला सदस्य १ कार्यकाल र हाल नेकपा एमाले जिल्ला सचिवालय सदस्य हुन् । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेका स्वकीय सचिवसमेत रहेका न्यौपानेको निजी निवासमा आगजनी भएको थियो। धम्की, दबाब र भौतिक क्षतिका बाबजुद पनि उनले राजनीतिक यात्रामा विचलित नभई संगठनलाई थप सशक्त बनाउँदै अघि बढेको एमालेभित्र चर्चा हुने गरेको छ।

नवलपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष उम्मेदवारका रूपमा सागर न्यौपानेको नाम अघि सारिनु एमालेले जेन–जी पुस्तालाई संसदसम्म पुर्याउने स्पष्ट संकेतका रूपमा लिइएको छ। अनुभवी नेतृत्व र ऊर्जावान युवाको संयोजनमार्फत चुनावी मैदानमा उत्रिने तयारीमा रहेको एमालेको यो निर्णयले नवलपुर–१ को राजनीतिक माहोल थप तातेको छ।

क्षेत्रीय समन्वय समितिका सह–संयोजक दिपकराज लम्सालका अनुसार सिफारिस गरिएका नामहरू जिल्ला र प्रदेश कमिटी हुँदै पार्टी केन्द्रमा पठाइने छ भने अन्तिम निर्णय केन्द्रबाट हुने छ। प्रत्यक्ष उम्मेदवार सिफारिसको केन्द्रमा सागर न्यौपाने उभिँदा नवलपुर–१ का मतदाता र राजनीतिक वृत्तमा युवापुस्ताको नेतृत्व, उत्तराधिकार र भविष्यको राजनीतिबारे नयाँ बहस सुरु भएको छ।
क्षेत्र नं. १ बाट सिफारिस गरिएका उम्मेदवारहरूमा रविन्द्र अधिकारी, डा. गोपाल खनाल, छत्रराज पौडेल, भागीरथ सापकोटा, गोपेन्द्र केशरी न्यौपाने, तिलोत्तम पौडेल र हरिप्रसाद न्यौपाने रहेका छन्।