विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालसहित विश्वका ३८ देशमा २९३ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या शून्य छ ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीहरुको ज्यान हो ।
हाल सम्म नेपालसहित ५९ हजार ४११ जनामा कोरोना संक्रमण देखिएको छ । ती ८३ प्रतिशत अर्थात मध्ये ४८ हजार ५०४ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिनुभयो ।
५१ हजार ४४१ जनाको उद्धार
विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो ।
दैनिक ५०० जनाको मात्रै उद्धार गर्ने सरकारी नीतिले थप समस्या
सरकारले गरेकोमा दैनिक रुपमा अधिकतम् ५०० जनासम्मलाई मात्रै उद्धार गरेर विदेशबाट ल्याउने निर्णयले विदेशमा अलपत्र र समस्यामा परेका नेपाली कामदार लगायत अन्य विविध प्रयोजनले विदेश गएका तर उतै रोकिएका नेपालीको उद्धारमा थप ढिलाइ हुने भएको छ ।
संघ अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् । विशेषगरी मध्यपूर्वमा अलपत्र नेपाली यस निर्णयबाट बढी प्रभावित हुने केसीको भनाइ छ । उहाँले सरकारले यस विषयमा पुर्नविचार गर्नुपर्ने बताउनुभएको छ । विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा पछिल्लो निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
यसअघि सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २०० जना गरेर जम्मा ५०० जनालाई मात्रै उद्धार गर्ने जनाएको थियो ।
२४६ जनाको शव नेपाल ल्याइयो
विदेशमा विविध कारण मृत्यु भएका २४६ जनाको शव नेपाल ल्याई परिवारलाई बुझाइएको छ । १७२ जनाको गन्तव्य मुलुकमै अत्येष्टीका लागि सहमति प्राप्त भएको छ । विदेशमा मृत्यु भएका ४९४ जनाको मध्ये अझै ७६ जनाको शव नेपाल ल्याउन बाँकी छ ।