काठमाडौं
नेपाली साहित्यकी प्रख्यात नारी हस्ताक्षर साहित्यकार पारिजातको सुप्रसिद्ध कृति "शिरीषको फूल"लाई नाट्य रूपान्तरण गरी मञ्चन गरिने भएको छ। कान्तिपुर फिल्म एकेडेमीले मञ्चन गर्ने शिरीषको फूलमा रहेका मुख्य तीन पात्र सुयोगवीर, सकम्बरी र शिवराजको भूमिकामध्ये शिवराजको भूमिकामा नवलपुरका अनुभवी नाट्यकर्मी राज न्यौपानेले नायक जीवन लुइटेल र नायिका सनिसा भट्टराईसँग रङ्गमञ्चको मञ्चलाई साझा गर्दै हुनुहुन्छ ।
कान्तिपुर फिल्म एकेडेमीद्वारा सञ्चालित कान्तिपुर थिएटरमा आगामी साउन ८ गतेबाट मञ्चन हुने शिरीषको फूललाई नाट्य रूपान्तरण तथा निर्देशन पत्रिका घिमिरेले गर्नुभएको छ। नाटकका मुख्य पात्र सुयोगवीरको भूमिकामा नायक जीवन लुइटेल,सकम्बरीको भूमिकामा नायिका सनिशा भट्टराई र शिवराजको भूमिकामा रङ्गमञ्चका अनुभवी कलाकार राज न्यौपानेले अभिनय गर्नुहुनेछ।

नवलपुरको देवचुलीका स्थायी बासिन्दा राज न्यौपानेले विसं २०६० सालबाट राष्ट्रिय नाचघर, ज्ञ "डिस्कभर योरसेल्फ" हुँदै गुरुकुलसँग आबद्ध भई आफ्नो नाट्य यात्रालाई अगाडी बढाउँदै आउनुभएको छ। राज न्यौपानेले वि.सं. २०५६ सालबाट प्रगति कला मन्दिर देवचुली ११ बाट नाट्य यात्रा सुरु गर्नुभएको हो। उहाँले हालसम्म मुनामदन, हरियो ढुङ्गा, पत्थरको कथा, योगमाया, मार्क्स फर्किए, अर्को अर्थ नलागेमा, महाभोज, लगायत ५० भन्दा बढी नाटकमा अभिनय र नेपथ्यमा रहेर काम गरिसक्नुभएको छ। न्यौपाने हाल ज्ञ र गुरुकुलमा प्रोडक्सन डिजाइनर, मेन्टर र को-अर्डिनेटरका रुपमा कार्यरत हुनुहुन्छ ।
थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवहरूमा सहभागिता जनाइसक्नुभएका राज न्यौपानेले थिएटर प्रशिक्षक, कार्यशाला मेन्टर र प्रोडक्सन म्यानेजरको रुपमा रहेर नाट्य क्षेत्रमै आफ्नो क्रियाशीलता अगाडी बढाइरहनुभएको छ। साउन ८ गतेबाट मञ्चन हुन लागेको शिरीषको फूलमा मुख्य तीन पात्र रहेका छन्। जसमध्ये राज न्यौपानेले शिवराजको भूमिका निभाउनुभएको छ भने नायक जीवन लुइटेलले सुयोगवीर र नायिका सनिसा भट्टराईले सकम्बरीको भूमिका निभाउनुभएको छ ।

जीवन लुइटेल र सनिशा भट्टराई दुबैले चलचित्रमा अभिनय गरेपनि दुबैका लागि नाटकमा अभिनय गर्नु नौलो र पहिलो प्रयास रहेको छ। दुवै जनाले शिरीषको फूलमार्फत नाटकमा डेब्यु गर्दै हुनुहुन्छ भने रङ्गमञ्चका अनुभवी कलाकार राज न्यौपानेको नाटकमा दुई दशकभन्दा लामो अनुभव छ। हाल कान्तिपुर फिल्म एकेडेमीमा कलाकार जीवन लुइटेल, सनिसा भट्टराई र राज न्यौपाने तिनै जना नाटकको रिहर्सलमा व्यस्त हुनुहुन्छ।
नाट्य क्षेत्रमा लामो अनुभव बटुल्नुभएका राज न्यौपानेले नवलपुरमा पनि नाट्य प्रशिक्षकका रुपमा काम गरिसक्नुभएको छ। उहाँले गतवर्ष ह्याप्पी एफएमको आर्ट डाइरेक्टरको रुपमा काम गरी देवचुली नगरपालिकाका भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय, दिव्य एकेडेमी र ओएसिस इङ्लिस बोर्डिङ स्कुलमा एक वर्ष नाट्य प्रशिक्षण समेत गरिसक्नुभएको छ। न्यौपानेले नाटकसँगै सर्ट मुभी र केही म्युजिक भिडियोहरूमा पनि अभिनय गरिसक्नुभएको छ।