देवचुली–१५, प्रगतिनगरस्थित विश्व ज्योति माध्यमिक विद्यालयमा आयोजित अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम दुई दिनसम्म विविध गतिविधिका साथ उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। शैक्षिक उपलब्धिलाई सम्मान गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको देखिएको थियो।
कार्यक्रमको पहिलो दिन नर्सरीदेखि कक्षा–३ सम्मका विद्यार्थीहरूलाई विभिन्न विधामा उत्कृष्टता हासिल गरेको आधारमा पुरस्कृत गरिएको थियो भने दोस्रो दिन कक्षा–४ देखि कक्षा–१० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सम्मान प्रदान गरिएको थियो।

पहिलो दिनको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्याप्सन नेपालका केन्द्रीय सदस्य दीपक रावत सहभागी हुनुहुन्थ्यो। दोस्रो दिन पनि अध्यक्ष अर्यालकै अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख न्यौपानेले विद्यालयले शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार तथा नतिजाका दृष्टिले जिल्लामै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो। विद्यार्थी, शिक्षक, प्रशासन र अभिभावकको समन्वित प्रयासकै कारण यस्तो उपलब्धि सम्भव भएको उहाँको भनाइ थियो।
-1772282089.jpeg)
त्यसैगरी, शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले शैक्षिक सफलतामा अभिभावकको सक्रिय भूमिका अपरिहार्य रहने बताउनुभयो। पहिलो दिन बोल्दै प्रमुख अतिथि दीपक रावतले विद्यालयले पाठ्यक्रमीय शिक्षासँगै व्यवहारिक सीप, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा वक्तृत्व कला जस्ता पक्षमा समेत विशेष ध्यान दिँदै आएको धारणा राख्नुभयो। उहाँले २१औँ शताब्दीको आवश्यकताअनुसार शिक्षालाई व्यवहारसँग जोड्न विद्यालयले महत्वपूर्ण पहल गरिरहेको बताउनुभयो।
दुवै दिन विद्यार्थीहरूले नृत्य, गायन, नाटक, धार्मिक पूजा–अर्चना तथा चित्रकला प्रदर्शनीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। अनुशासन, सरसफाइ, नेतृत्व क्षमता, वक्तृत्व कला, अंग्रेजी तथा नेपाली भाषामा दक्षता, विज्ञान तथा चित्रकलामा उत्कृष्ट प्रदर्शन लगायतका सूचकका आधारमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल विष्णुप्रसाद बास्तोलाले स्थापना कालदेखि हालसम्मको यात्रालाई स्मरण गर्दै विद्यालयलाई सफल बनाउन निरन्तर सहयोग पुर्याउने अभिभावक, शिक्षक तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा जनप्रतिनिधि, सामाजिक व्यक्तित्व, शिक्षा क्षेत्रका सरोकारवाला, विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन विद्यालयकी को–अर्डिनेटर डा. चन्दा न्यौपानेले गर्नुभएको थियो।