नेपाली गीत–साहित्य क्षेत्रमा लामो समय सक्रिय रहनुभएका वरिष्ठ गीतकार तथा साहित्यकार प्रेमविनोद श्रेष्ठ ‘नन्दन’को निधन भएको छ। आइतबार बेलुकी ९:२५ बजे, ९० वर्षको उमेरमा उहाँको चितवन मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित नन्दनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज नारायणी कला मन्दिरमा राखिनेछ। नारायणी कला मन्दिरका पूर्व अध्यक्ष तथा सल्लाहकारसमेत रहनुभएका उहाँलाई आजै देवघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी गरिएको छ।
तनहुँको बन्दिपुरमा जन्मिनुभएका नन्दन केही समय गोरखाको आरुघाटमा व्यापार व्यवसायमा संलग्न रहनुभयो। सोही क्रममा २०१९ सालतिर नारायणगढ झर्दै उहाँ साहित्यिक र कलाक्षेत्रमा सक्रिय हुनुभयो। नारायणी कला मन्दिरमार्फत नाटक अभिनय, लेखन र अनुवाद कार्यमा लामो समय योगदान पुर्याउनुभयो। विश्वप्रसिद्ध लेखकका नाटकलाई नेपालीमा अनुवाद गर्नु उहाँको अर्को विशेष योगदान मानिन्छ।
गीत–संगीत क्षेत्रमा समेत नन्दनको योगदान उल्लेखनीय रह्यो। उहाँले लेखेका गीतमा नातिकाजी लगायतका चर्चित संगीतकारले संगीत दिनुभएको थियो भने चलचित्रका गीतहरूमा पनि उहाँको रचना अमर बनेका छन्। कलाकार रिद्धिचरण श्रेष्ठका अनुसार नन्दनलाई चितवनमा गजल–दोहोरीको जन्मदाता मानिन्छ।
साहित्यिक यात्रा हुँदै जीवनको उत्तरार्धसम्म सक्रिय रहनुभएका नन्दनलाई छिन्नलता पुरस्कारसहित अनेकौं सम्मान प्राप्त भएका छन्। उहाँकी श्रीमती, तीन छोरा र तीन छोरी छन्।
नन्दनको निधनले नेपाली गीत, नाटक र साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यकार र कलाकारहरूले बताएका छन्।