बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गुमाएका बाबुराम थापाको शव बुझ्न परिवारका सदस्य सहमत भएका छन् ।
प्रदेश ५ को समाजिक विकास मन्त्रालयमा बुधबार आयोजित सर्वपक्षीय बैठकबाट परिवारका सदस्यको माग सम्बोधन गर्ने सहमति जुटेसँगै परिरवार शव उठाउन राजी भएका हुन् ।
बैठकमा सहभागी युवा उद्यमी जगत पोखरेलले मृतक बाबुरामको परिवारलाई दिनेगरी आधारभूत राहत कोष बनाउने सहमति बनेको बताए । पूर्वसांसद् विनोद पहाडी, युवा उद्यमी जगत पोखरेल, अधिकारकर्मी पदम कार्की, होटल व्यवसायी समुद्र जिसीको पहलमा कोष बनाइएको हो । ५ लाख ५ हजारको यो कोषमा थप आर्थिक सहयोग जुटाइनेछ । कोषमा समाजसेवी दाताहरूको सहयोगबाट आज मात्रै साढे ८ लाख रकम संकलन भइसकेको युवा उद्यमी जगत पोखरेलले बताए ।
त्यसैगरी, बाबुरामका २ छोरालाई उच्च शिक्षासम्म पठनपाठन र श्रीमती रीता थापा क्षेत्रीलाइ सैनामैनाको स्थानीय सरकारले रोजगारी दिने लिखित सहमति पनि जुटेको छ ।
दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए । अस्पतालमा भर्ना भएको चौथो दिन चैत १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो ।
उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, परिवारले उपचारमा लापरबाही भएको भन्दै शव बुझ्न मानेका थिएनन् । क्षतिपूर्तिलगायतका माग उनीहरूले अघि सारेका थिए ।