देवचुली
दिव्य एकेडेमी देवचुली १ ले आफ्नो स्थापनाको २२ औं वार्षिकोत्सव सदाको वर्षहरू भन्दा पृथक तरिकाले मनाएको छ। विद्यालयले वार्षिकोत्सव मनाउने क्रममा विद्यार्थीहरूको व्यवहारिक गान र सीपलाई निखार्नको लागी अथक प्रयास गरेको छ।

विद्यालयमा किताबी ज्ञान मात्र नभएर व्यवहारिक र जीवनोपयोगी सीपहरू पनि सिकाइन्छ भन्ने कुराको जानकारी दिन यस पटकको वार्षिकोत्सवलाई पृथक तरिकाबाट मनाइएको विद्यालयका प्रिन्सिपल कोपिला भण्डारीले बताउनुभएको छ।

विद्यालय परिसरमा विद्यार्थीहरू द्वारा बनाइएको हस्तकलाका सामग्री , विज्ञान प्रदर्शनी , फुड स्टल , परम्परागत सामाग्रीको साथमा कृषि औजार तथा हतियार , कक्षा कोठामा सिकाइ सहजिकरणका लागी प्रयोग हुने सामाग्रीहरू , माटो तथा बाँसको सामाग्री लगायतका वस्तुहरूको प्रदर्शनी गरिएको थियो।

विद्यालय परिसरमा सम्पन्न भव्य कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति , शिक्षिकाहरुको नृत्य , विद्यार्थीहरूको नाटक मञ्चन , स्थानीय पाठ्यक्रम अनुसारको देवचुली नगरपालिकाको नमुना प्रदर्शनी , कराँते समुहको प्रस्तुति रहेको थियो। विद्यालयले बिभिन्न समयमा सञ्चालन गरेको विविध अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीलाई पुरस्कार वितरण , उत्कृष्ट विद्यार्थी , उत्कृष्ट शिक्षक र उत्कृष्ट सदनलाई पुरस्कार वितरण गरिएको थियो।

विद्यालयका प्रबन्ध निर्देशक तुलमणि पौडेलको अध्यक्षता तथा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयकी प्रिन्सिपल कोपिला भण्डारीको सहजीकरण रहेको थियो।

विद्यालयका प्रबन्ध निर्देशक पौडेलले कार्यक्रमको जानकारी गराउनु हुँदै विद्यालयको वस्तुगत अवस्थाको जानकारी गराउनुभएको थियो भने अतिथिहरूका लागी स्वागत मन्तव्य शिक्षिका निमा तिवारी र विद्यार्थी सानु थापाले दिनुभएको थियो।

विद्यालयको २२ औं वार्षिकोत्सवको अवसरमा विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष अनिल बस्ताकोटी , जिल्ला बाल अधिकार समितिका अध्यक्ष नारायण पौडेल , देवचुली नगरपालिकाका प्रवक्ता तिल प्रसाद काफ्लेले शुभकामना मन्तव्य राख्नुहुँदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो।

कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू , अभिभावक , छिमेकी विद्यालयका प्रिन्सिपलहरू , स्थानीय सङ्घसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो।
