चितवन.
चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाइने भएको छ । भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा आज (मंगलबार) विहान भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो । छलफलले ७२ घण्टा भित्रमै कोरोना विशेष अस्पताल बनाई सक्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोरोना संक्रमणको संभावित अवस्थालाई मध्यनजर गर्दै कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको जानकारी दिइन् । मेयर दाहालले भनिन्–‘ओपीडिसहितको कोरोना विशेष अस्पताल बनाइने छ, यसले अन्य क्षेत्रमा संक्रमण कम गराउन सक्छ ।’ मेयर दाहालले प्रदर्शनी केन्द्रमा तीन वटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको बताइन् । ‘कोरोना विशेष अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ, ७२ घण्टा भित्र अस्पताल तयार हुन्छ’–मेयर दाहालले भनिन् ।
अस्थायी रुपमा निर्माण गर्न लागिएको अस्पतालमा ७० बेड क्षमता हुनेछ । जसमा ५० बेड जनरल, १० बेड सघ कक्ष (आइसियु) र १० बेड (एचडियु)को रहने भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले जानकारी दिए ।
उनले स्थान छनौट भइसकेकाले भोलि (बुधबार)बाट नै उपकरणहरु जडान गरिने जानकारी दिए । उपकरणका लागि चितवनका अस्पतालहरुले केही सहयोग गर्नेछ भने प्रदेश सरकारबाट समेत बजेट माग गरिने डा.अधिकारीले बताए । उनले महानगरसंगै सबै संघसंस्थाहरुको सहयोगमा अस्पताल निर्माण गर्न लागिएको बताए । डा.अधिकारीले चितवनमा कोरोना शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने बताए । ‘यो रिफरल अस्पताल जस्तै बन्नेछ, चितवन देशकै मध्यभागमा भएकाले धेरै स्थानबाट बिरामी आउने सक्ने अवस्थालाई मध्यनजर गरी यसलाई तयार पारिने छ’–डा.अधिकारीले भने ।
चितवन प्रदर्शनी केन्द्र भरतपुर–१० स्थित जिल्ला समन्वय समिति समिति र नेपाल टेलिकमको छेउमा छ । चितवन उद्योग संघले निर्माण गरेको प्रदर्शनी केन्द्र चारै तिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले प्रदर्शनी केन्द्रलाई अस्पतालका लागि छनौट गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा अस्पताल बनाउन संघले सहयोग गरेको बताए ।
स्पेशल टाक्र्स फोर्स तयार
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय कोरोना रोकथाम तथा उपचार स्पेशल टाक्र्स फोर्स तयार गरिएको छ ।समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारी चितवन मेडिकल कलेजका निर्देशक, कलेज अफ मेडिकल साईन्सेसका निर्देशक, क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य, नेपाल चिकित्सक संघका उपाध्यक्ष डा.अनिलविक्रम कार्की, भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारी, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधि, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष डा.नारायण सिंह कुँबर, नर्सिङ संघका अध्यक्ष, जिल्ला समन्वय समितिका प्रतिनिधि, नेपाल पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायणप्रसाद अधिकारी रहेका छन् ।