नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडाँैतर्फ जाँदै गरेको ना६ख १५९२ नंको बस आज बिहान ठक्कर खाएको थियो ।
ठक्करबाट बसमा सवार ३१ जना मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनकाका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।
घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर खाने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको र घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।