१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीको आत्मबल बलियो देखिन्छ। आफू स्वस्थ भएको छनक दिँदै उनी बालुवाटार बसेर सक्रिय जीवन बिताइरहेका छन्।
ग्रान्डी इन्टरनेसनल अस्पतालमा दुई पटक हेमोडायलासिस गरेपछि डिस्चार्ज भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। दुवै मिर्गौला फेल भएपछि हेमोडायलासिस वा प्रत्यारोपण गर्नुपर्ने हुन्छ।
मिर्गौला बिग्रनुमा विभिन्न कारण हुन्छन्। वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेका अनुसार उच्च रक्तचाप, मधुमेह, वंशाणुगत, पत्थरी, संक्रमण र जथाभावी औषधि सेवनलगायत कारणले मिर्गौलामा रोग लाग्न सक्छ। नेपालमा बर्सेनि करिब ३ हजार जनाको मिर्गौला फेल हुने गर्छ।
जीवन लम्ब्याउन दुई विकल्प
मिर्गौला फेल भएपछि आयु लम्ब्याउन दुई वटा विकल्प छन्। ती हुन् डायलासिस र प्रत्यारोपण। दुवै मिर्गौला फेल भएपछि मेसिनको सहयोगमा शरीरको फोहोर तŒवका साथै बढी देखिएको नुन र पानी बाहिर निष्कासन गरी रक्तचाप नियन्त्रण राख्न डायलासिस उपचार विधि अपनाइन्छ। डा. काफ्ले डायलासिसभन्दा प्रत्यारोपणमा जोड दिनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘डायलासिस नियमित गरिरहँदा बिरामी र परिवारको कमाउने ऊर्जाशील समय उपचारमै बिताउनुपर्ने हुन्छ। राष्ट्र र स्वयं बिरामीका लागि समेत डायलासिसभन्दा प्रत्यारोपणको विकल्प रोज्नु उपयुक्त हुन्छ।’
नेपालमा तीनवटा सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ। अन्य निजी अस्पतालले पनि प्रत्यारोपण सेवा दिइरहेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दशकअघि प्रत्यारोपण सुरु गरेको थियो। त्यसपछि वीर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणले पनि मिर्गौला प्रत्यारोपण गरिरहेका छन्। सबैभन्दा बढी मिर्गौला प्रत्यारोपण सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा भएको छ। यस केन्द्रमा ६ सय ५० भन्दा बढीको प्रत्यारोपण भइसकेको जनाइएको छ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत युरोलोजिस्ट डा. किरणजंग कुँवरका अनुसार मिर्गौला फेल भएको व्यक्तिको गुणस्तरयुक्त जीवन बिताउन प्रत्यारोपण नै उपयुक्त मानिन्छ। डा. कुँवर भन्छन्, ‘लामो समयसम्म सक्रिय जीवनका लागि संसारभरि नै प्रत्यारोपणलाई राम्रो उपचार पद्धति मानिन्छ।’
स्वस्थ व्यक्तिले आफ्नो एउटा मिर्गौला अर्को व्यक्तिलाई दान गर्दैमा अप्ठ्यारो पर्दैन। एउटै स्वस्थ मिर्गौलाले पनि आजीवन स्वस्थसँग बाँच्न सकिन्छ। प्रत्यारोपणका लागि मिर्गौला लिने र दिनेबीच रगत, एचएलएलगायत परीक्षण गर्नुपर्ने हुन्छ। म्याच भएको अवस्थामा मात्र सहमतिका आधारमा मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ।
नेपालमा सहमतिका आधारका साथै र नातेदारसँग मिर्गौला लिएर प्रत्यारोपण गरिँदै आएको छ। मिर्गौला प्रत्यारोपण गराएपछि नियमित औषधि खाइरहनुपर्छ। डा. कुँवरका अनुसार समयमा र नियमित औषधि सेवन गर्न बिर्सने हो भने शरीरमा एन्टिबडी निष्कासन हुन सक्छ। जसले प्रत्यारोपण गरिएको मिर्गौलाको कार्य क्षमतामा ह्रास ल्याउन सहयोग गर्छ।
विदेशमा मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला झिकेर स्वस्थ व्यक्तिमा प्रत्यारोपण गरिन्छ। नेपालमा भने हालसम्म सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणमा तीन वटा मस्तिष्क मृत्युका व्यक्तिको मिर्गौला झिकेर ६ जना व्यक्तिमा प्रत्यारोपण गरिएको डा. कुँवरले जानकारी दिए।
मिर्गौला रोगका लक्षण
शरीर सुन्निने
पिसाब कम हुने
खानामा रुचि नहुने
वाकवाक लाग्ने
शरीरको छाला गाढा कालो भएर जाने
श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने
रोगबाट बच्ने उपाय
रक्तचाप र मधुमेहको नियमित परीक्षण गर्ने
वर्षको एक पटक पिसाब र रगतको परीक्षण गर्ने
पर्याप्त पानी पिउने
जथाभावी औषधि सेवन नगर्ने
नियमित व्यायाम गर्ने
शरीरको तौल नियन्त्रणमा राख्ने