सोच्नुपर्छ
एकछिन बाहिरी आँखा बन्द गर्नुस्
र, भित्री आँखा खोलेर सोच्नुस
हामीले जिल्ला, अन्चल
र, गाबिस बनाएर छुट्याएको
यो देशमा बसोबास गर्ने चराचुरुङ्गीहरु
नागरिकता र जीवन रक्षाको माग गर्दै
हामी सँगसँगै राजधानी छिरे भने के होला ?
दिनरात आफ्नै लयमा बग्ने नदि
मुहानबाट बाहिर निस्कन चाहेन
हावाले हावाको सट्टामा
बालुवा मात्रै बोकेर ल्यायो भने
हिउँले प्लास्टिक सर्जरी गरेर
आफूलाई कालो रङ्गमा बदल्यो भने
त्यो दिन यो ब्रह्मान्डको स्वरुप कस्तो होला ?
अझै गहिरिएर सोच्नुस-
बटुवाहरुले सुची गर्छन् भनेर
सहरका ठूलाठूला पर्खालको भित्तामा टाँसिएर
सेक्युरिटी गरिरहेका भगवानले
तलबको माग गरे भने !
खुट्टाले शरिरबाट
घ्याम्पे पेट हटाएपछि मात्रै
हिड्ने अड्डी कस्यो भने !
कुकुर, बिरालो, बाँदर , गाई/भैंसी
मर्ने जति सबैको
बिच बाटोमा सालिक बनाउन थालियो भने
यहाँको परिवेश कस्तो होला ?
बगैंचा र बाटो छेउमा रोपिएका रुखमा
फलको सट्टामा
हाँगाभरी लास मात्रै फल्यो भने !
हाम्रो मन जस्तै
यो बाटो पनि साँघुरीदै साँघुरीदै गयो भने
जीवनसँग जीवनको भेट कसरी होला ?
भर्खर जन्मिएको नावालकलाई
बोतलको दूध खुवाएर
आफ्नो स्तन
बाटो हिड्नेहरुको नजर आफूतिर तान्न
हिस्टपुस्ट राख्न चाहनेलाई
एक हुल सर्पले
बिच बाटोमा उभ्याएर
पालै पालो स्तनपान गरे भने के होला ?
सोच्नुपर्छ,
अब मान्छेले प्रकृति बिपरित जानुभन्दा पहिला
धेरैचोटि सोच्नुपर्छ ।
मनोज विराली
काठमाडौं