किताब जस्तै छ मान्छेको जिन्दगी
किताब जस्तै हुन्छ मान्छेको जिन्दगी,
कभरमा मनपर्ने र मन लोभ्याउने रंगहरू सजिन्छन्,
भित्रका अक्षर भने समय–समयमा
खुसी, पीडा, संघर्ष र आशाले कोरिएका हुन्छन्।
प्रकाशक बाआमा हुन्,
जसले जीवन रुपी खाली पाना छापिदिन्छन् ।
आशिषका सुकोमल अक्षरले नाम दिन्छन्।
खाली पानामा आफै सजाउनु, भनेर काम दिन्छन्।
त्यसैले लेखक स्वयं हो ।
संसारसँग सिक्दै,
स्वीकार र सङ्कल्प, साधना र सङ्घर्ष गर्दै
अभ्यास र त्रुटिका काला-सेता दागहरू भोग्दै,
उसले नै लेख्दै जान्छ प्रत्येक अध्याय।
विषय–सूची जन्मदेखि मृत्युका
मुख्य मुख्य मोडहरू हुन्,
कहाँ रोएँ, कहाँ हाँसेँ,
कसले साथ दियो, कसले टाढियो.....
सबै शीर्षकहरू समयले सिलसिलेवार राखिदिन्छ।
जसरी किताबमा विषय सूचीहरू सिलसिलेवार हुन्छन् ।।
पहिलो पाठ
न्यानो काख, पहिलो शब्द, पहिलो चोट, पहिलो डर, पहिलो प्राप्ति......
अन्तिम पाठ
थाकेको मन, बुझेका सत्य,
र अन्त्यतिर पूर्णविराम जस्तो गहिरो मौनता।
बीच–बीचका अध्यायहरू
कहिले सरल कथाहरू, कहिले दुरुह भोगाई,
कहिले उकालो, कहिले ओरालो,
यिनै मोडहरूले त जीवनलाई पुस्तक बनाउँछन्।
त्यसैले
किताब जस्तै छ मान्छेको जिन्दगी,
कभर जसरी आफूले सजाउन खोजे पनि,
सच्चा कथा भित्रका शब्दले नै बोल्छ।
अन्त्यमा
पाना–पाना पल्टिँदै
एक दिन हाम्रो जीवन पनि
शान्त पूर्णविरामसँगै
पुस्तकालयको कुनै कुनामा थुनिन्छ ।
पढ्नेहरूलाई छोडेर जान्छ,
गहिरो अर्थ, अनुभूति र सम्झना।
किताब जस्तै नहो मान्छेको जिन्दगी
राजन पाण्डे
कावासोती