देवचुली
देवचुली महोत्सवको अन्तिम दिन आज आइतबार द यात्रा ब्याण्ड , गणेश बिक , उमादेवी खनाल , अमर रजाली लगायतका कलाकारहरुले साङ्गेतिक प्रस्तुति राखेका थिए। आज १७ औं दिन कलाकारहरुको साङ्गेतिक प्रस्तुति संगै समापन समारोह समेत सम्पन्न गरिएको छ। आजको समापन कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्य नारायण भुसालको अध्यक्षता संगै उद्योग वाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुर कृष्ण वैद्यको प्रमुख आतिथ्यता रहेको थियो।

संघका बरिष्ठ उपाध्यक्ष बिनोद सिलवालको स्वागत मन्तब्य रहेको कार्यक्रममा संघका संस्थापक अध्यक्ष धर्मराज बस्यालले शुभकामना मन्तब्य तथा निवर्तमान अध्यक्ष सुर्य दवाडीले धन्यवाद मन्तब्य राख्नुभएको थियो। आजको औपचारिक कार्यक्रमलाई संस्थाका सचिव तिलादेवी न्यौपाने र साङ्गेतिक कार्यक्रमलाई गायिका उमादेवी खनालले सहजीकरण गर्नुभएको थियो। महोत्सवको समापन सत्रमा गत पौष २५ गते महोत्सवको शोभायात्रामा सहभागि भएका समुहहरु , सहयोगी संघ संस्थाहरु तथा महोत्सव अवधिभर संचालित विभिन्न प्रतियोगिताका बिजेताहरुलाई पुरस्कारको साथमा सम्मान पत्र तथा प्रमाण पत्र समेत वितरण गरिएको थियो।

सहनशिला बनिन देवचुली डान्स आइडल
छैटौँ देवचुली महोत्सवमा संचालन भएको देवचुली डान्स आइडलको उपाधि सहनशिला भण्डारीले जितेकी छिन्। महोत्सवको सुरुको दिन देखि नै संचालित यस प्रतियोगितामा ३० जना प्रतियोगी रहेकोमा भण्डारी प्रथम तथा पुर्णिमा सुराइलि फस्ट रनर अप , दिप्ती श्रेष्ठ सेकेन्ड रनर अप तथा इसा परियार र नन्दनी घर्ति मगर द्वय थर्ड रनर अप हुन सफल भएका छन्।
यो संगै बिजेताहरुले क्रमश २५ हजार , २० हजार , १५ हजार , ५ हजार र वर्षा केसी , शिखा सुनार , प्रिन्सिका भुसाल तथा सिम्रन आले मगरले जनही ३/३ हजार प्राप्त गरेका छन्। देवचुली डान्स आइडलमा अनुराग कंडेलको संयोजकत्वमा रमित श्रेष्ठ र रन्जित नेपालीको निर्णायक भूमिका रहेको थियो।

देवचुलीको सानको रुपमा गत पौष २५ गते देखि संचालनमा रहेको महोत्सवमा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, स्थानिय कृषि उत्पादन लगायतको प्रदर्शनी स्टलहरु समेत रहेको थियो।