देवचुली
सदा झैँ व्यस्त रहने शाखाको कामलाई पन्छाएर देवचुली नगरपालिकाको निम्तो मान्न तीनजना प्रधानाध्यापक सहित स्रोत शिक्षक र म देवचुली नगरपालिकाको आयोजनाको विद्यार्थी सिप मेलातर्फ लागियो।
कावासोती नगरपालिकाबाट केवल ७ किलोमिटर दूरीमा रहेको सो कार्यक्रम स्थलको मूलद्वारमा कार्यक्रम हेरेर फर्किनुभएकाहरूसँग प्रतिक्रिया लिँदा पाएको सन्तोषजनक जवाफ र हसिलो अनुहारले मन उमङ्गित बनायो। अझै थप उत्सुकताका साथ कार्यक्रम स्थलतर्फ प्रवेश गरियो।
करिब ३ बिघा आयताकार जग्गामा २६ वटा फराकिला विद्यालयगत स्टलहरू बनाएर बीचमा सबैतिरबाट देख्न सकिने शानदार मञ्चले कार्यक्रम स्थललाई छुट्टै रौनक दिएको थियो।
आगन्तुकहरूको अभिलेख व्यवस्थित गर्न बस्नुभएका सर म्याडमहरूको हार्दिकतापूर्ण अभिवादनसँगै दर्शाउनु भएको स्वागतलाई मैले यहाँनिर बिर्सिन मिल्दैन ।
देवचुली नगरभित्र रहेका नौ वटा संस्थागत र १७ वटा सामुदायिक विद्यालयहरूको सबै स्टलहरू विद्यार्थीमय थिए। शिक्षकहरु उत्प्रेरकका रुपमा, मार्गदर्शकको रुपमा छेउछाउमा उभिएर विद्यार्थीहरुलाई उत्साहित गराइरहनु भएको थियो । कतै पन्चेबाजा बजाइरहेका विद्यार्थीहरू देखिन्थे ।
कतै मकैका खोस्टाहरूबाट बस्ने चकटी बनाइरहेका देखिन्थे। कतै बाँसका छेस्काहरूबाट सजावटका सामग्रीहरू बनाइरहेका देखिन्थे। कतै गुन्द्री बुनिरहेका विद्यार्थी नानीहरू देखिन्थे । कतै स्थानीय कच्चापदार्थमा आधारित कोदो मकै गहुँ फापर लगायतका खाद्यान्नहरूको विभिन्न परिकारहरु बनाउने र ती परिकारहरुलाई अवलोकनकर्ताहरूलाई बिक्री गर्न र कसरी बनाइयो भनेर सो बारेमा बताउन र त्यसले दिने फाइदाका विषयमा समेत छलफल गर्ने कार्य गरिरहेका थिए ।
सो पालिका भित्र रहेका प्राविधिक धारका विद्यालयहरूले आफ्नो विद्यार्थीहरूले उत्पादन गरेका बिरुवाहरू बिक्री गर्ने स्थलहरु पनि शानदार तरिकाले राखेको देखिन्थ्यो।
कक्षा ९ र १० मा पढ्ने विद्यार्थी भाइबहिनीहरूले बाँस बेद बाट बनाउन सक्ने डोको डालो बुनेको दृश्यले मनलाई झनै उमङ्गित बनायो। विभिन्न जाति विशेषका परिकारहरू त्यो मेलामा धेरै चाख्न पाइन्थ्यो।
लाग्थ्यो ती २६ वटा स्टलहरु हाम्रा जाति विशेषका, धर्म विशेषका, संस्कार विशेषका परिकारहरुलाई संरक्षण गर्न, स्थानीय परम्परागत ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न, स्थानीय रूपमा उत्पादन भएका कच्चा पदार्थहरूलाई प्रयोग गरेर वस्तु र सेवाको व्यापारमा लाग्न सक्ने उद्यमशीलता विकास गर्न एउटा उत्सवमय प्रस्तुति जस्तो लाग्थ्यो।
विश्वज्योति आवासीय माध्यमिक विद्यालयको स्टलमा पुग्दा विद्यार्थी भाइबहिनीहरू मकैबाट बन्न सक्ने विभिन्न परिकारहरु नेपालमा मात्र होइन अरु देशहरुमा पनि अभ्यासमा आएका परिकारहरूको अनुसरण गर्दै जुन नमुना देखाउनु भएको थियो त्यो कुरा साह्रै रहर लाग्दो थियो । त्यसै विद्यालयका प्रिन्सिपल डाक्टर प्रदिप बास्तोला , व्यवस्थापक डाक्टर चन्दा बास्तोला म्याडम तथा अन्य स्टाफहरूको विद्यार्थीप्रतिको अनुकरणीय अभिभावकीय भूमिका सिक्न लायक थियो। उहाँहरुले चखाउनु भएको मकैको म: म र पकौडा तथा त्यो परिकार बनाउने विद्यार्थीहरूलाई फेरि पनि सम्झन चाहन्छु।
मैले हेरिराखेको थिएँ। भाइले बनाइराखेका थिए। भाइले बनाएको चित्र त्यसै नगरका आदरणीय नगरप्रमुख हरिप्रसाद न्यौपानेको रहेछ । कस्तो दुरुस्तै प्रोटेक्ट स्केच बनाएका सकलादेवी माविका सुरेश गाह मगर भाइलाई अहिले पनि झलझली सम्झिरहेको छु।
मञ्च शानदार थियो। मञ्चमा अतिथिहरू पनि भरिभराउ हुनुहुन्थ्यो। तर मञ्चले विद्यार्थीलाई लक्षित गरेको थियो। कार्यक्रमको उद्देश्यलाई लक्षित गरेको थियो। अरुचिपूर्ण भाषणको श्रृङ्खला त्यहाँ थिएन।
अन्त्यमा,
हाम्रा विद्यालयहरूलाई वासी ज्ञान वितरण गर्ने अड्डाको रुपमा हेरिन्छ। १० वर्ष अगाडि बनाएको पाठ्यपुस्तकका विषयवस्तुलाई जस्ताको तस्तै सम्प्रेस गर्ने बासी ज्ञान प्रसारकको रुपमा शिक्षकलाई हेरिन्छ। त्यसैले समग्र शिक्षा प्रणालीलाई अव्यवहारिक छ। सीपसँग जोडिएको छैन । न हाम्रो संस्कार पद्धति र प्रणालीलाई जगाउन सकेको छ। न नविनतालाई भित्र्याउन सकेको छ। केवल मध्यमार्गी सैद्धान्तिक ज्ञानको अनुसरणमा अलमलिएको छ। भन्ने जस्ता आरोपहरू नेपाली शिक्षा प्रणालीलाई लाग्ने गर्छ जुन कुरा धेरै अर्थमा सत्य पनि हो।
त्यसैले ती आरोपहरूको सत्यताबाट पाठ सिक्दै शिक्षालाई सिपसँग जोड्ने, विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्ने, स्थानीय स्रोत साधन र सम्भावनाहरूलाई पहिचान र प्रयोग गर्ने जुन उद्देश्यका साथ बृहत्तर विद्यार्थी सीप मेला देवचुली नगरपालिकाले आयोजना गर्यो र कावासोती नगरपालिकालाई अवलोकनका लागि अवसर दियो त्यसका लागि सिङ्गो कवासोती नगरपालिकाको तर्फबाट देवचुली नगरपालिका र त्यहाँको शिक्षा शाखा परिवारलाई तथा कावासोती शिक्षा शाखाको अनुरोधमा त्यस कार्यक्रम अवलोकन गर्न जाने कावासोती नगरभित्रका सबै विद्यालयहरूलाई समेत धेरै धेरै धन्यवाद दिन चाहन्छु।
-राजन पाण्डे
शाखा अधिकृत
शिक्षा, युवा तथा खेलकुद शाखा
कावासोती नगरपालिका , नवलपुर