देवचुली
देवचुली १५, प्रगतिनगर स्थित श्री पशुपति वैदिक आश्रम परिसरमा आजदेखि अखिल नेपाल देशीय चतुर्थ वेदान्त भक्ति सम्मेलन तथा श्रीमद्भागवत धनधन्याञ्चल ज्ञान महायज्ञ–२०८२ को भव्यरूपमा प्रारम्भ भएको छ। पञ्चकन्याद्वारा दीप प्रज्वलन, वैदिक मन्त्रोच्चारण तथा स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजको संकल्प वाचनसँगै महायज्ञको औपचारिक शुभारम्भ गरिएको हो।


आश्रम परिसरबाट भक्तजनको उमंग, वटुकहरुको शंखनाद, भजन–कीर्तन, कलश–ध्वजा सहितको सांस्कृतिक सजावट सहित सुरु भएको कलश शोभा यात्रा शिवालय चोक, धौलागिरी चोक, बागलुङ चोक, जनज्योति चोक, दलदले बजार हुँदै प्रगतिनगरमार्ग परिक्रमा गरी पुनः आश्रममै फर्किएको थियो।
शोभा यात्रामा स्थानीय बासिन्दा, विद्यालयमा अध्ययनरत वटुकहरु, महिला समूह, युवायुवती, छिमेकी विभिन्न मन्दिर समितिका पदाधिकारीहरु सामाजिक तथा राजनीतिक क्षेत्रका प्रतिनिधिहरू, विभिन्न पीठका सन्त–महन्तहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आश्रमका पीठाधीश श्री १००८ स्वामी स्वरुपानन्द सरस्वतीजी महाराजले समारोहलाई सम्बोधन गर्दै वेदान्त–भक्ति परम्पराको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “वेदान्त, भक्ति र संस्कार हाम्रो सनातन मूलाधार हो। ज्ञान, श्रद्धा, सेवा र चरित्रनिर्माणमा मानिसलाई उन्नत बनाउने माध्यम यही हो। धनधन्याञ्चल महायज्ञले समाजमा सकारात्मक सोच, आत्मबोध र आध्यात्मिक चेतना अभिवृद्धि गर्नेछ।”

महायज्ञ अवधिभर मङ्सिर १२ देखि दैनिक बिहान ७ देखि ११ बजेसम्म पाठ पारायण, दिउँसो १२ देखि साँझ ४स्३० बजेसम्म श्रीमद्भागवत कथा प्रवचन, त्यसपछि आरती, पुष्पाञ्जलि तथा प्रसाद वितरण हुनेछ। साँझ ५स्३० बजे सचिवालय बैठक तथा आय–व्यय अभिलेखन हुनेछ भने ७ देखि ९ बजेसम्म सन्ध्याकालीन भजन–कीर्तन सञ्चालन हुनेछ। भूमिदान, तुलादान, रुद्राभिषेक, चौरासी पूजा, ग्रहपूजन, व्रतबन्ध र हवनजस्ता याज्ञिक विधिहरू निरन्तर सञ्चालन भइरहनेछन्।

आठ दिनसम्म चल्ने यो आध्यात्मिक महोत्सवका कार्यक्रमहरू आश्रमको विकास, वैदिक परम्पराको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। आयोजक समितिले श्रद्धालु, स्थानीय समुदाय, इष्टमित्र तथा भक्तजनहरूलाई परिवारसहित सहभागी भई पूजा–अर्चना, कथा–श्रवण तथा वेदान्त दर्शनको अमृतरस ग्रहण गर्न हार्दिक निमन्त्रणा जनाएको छ।

यज्ञ सम्पादन मूल समितिका संयोजक अग्निप्रसाद पाण्डेले जनसहभागिताप्रति आभार व्यक्त गर्दै भने, “आश्रमको समग्र उत्थान, शिवालय पुनर्निर्माण, आवासीय बटुकहरूको व्यवस्थापन तथा समाज–राष्ट्र र विश्व शान्तिको भावनासहित यो आठदिने महायज्ञ आयोजना गरिएको हो।