देवचुली
देवचुली महोत्सवको एघारौँ दिन चर्चित लोक दोहोरि गायक प्रकाश दुतराजले उपस्थित दर्शकलाई आफ्नो प्रस्तुतिले मन्त्रमुग्ध पारेका थिए। हरेक दिन विभिन्न कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई मनोरन्जन गराउने क्रममा आज सोमबार गायक दुतराजले आफ्नो चर्चित गितहरु सुनाउंदै नचाएका थिए। उनले छैन र माया , राम साइँली , घर कता हो बैनीको , रेशम जस्ता गित गाएका थिए भने अर्का गायक उज्वल गिरीले कोठी गालैमा , घरै रमाइलो तथा भजन गाएका थिए।


सांझ पख भने गायक गिरि र गायिका सपना परियारले दोहोरि समेत गाएका थिए। आजै बेली डान्सर बन्दना बिश्वकर्मा , गायक लक्ष्मण चापागाई सहित नियमित रुपमा हुँदै आएको देवचुली डान्स आइडलका प्रस्तुति तथा स्थानिय कलाकारहरुको गायन तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने उक्त साङ्गीतिक कार्यक्रमको सहजीकरण लोक दोहोरि गायक दिपक खड्काले गरेका थिए। महोत्सवले साहित्यलाई समेत महत्वपूर्ण स्थान दिदै आएको छ जस अनुरूप आज महोत्सव परिसरमा कवि सम्मेलन गरिएको छ। महोत्सवको आजको बिहानी सत्रमा नवलपुरका दुई दर्जन कवि साहित्यकारले महोत्सव परिसरलाई साहित्यमय बनाएका थिए। कार्यक्रम संयोजक तथा साहित्यकार आदर्श शुसिलले सहजीकरण गरेको कार्यक्रममा उपस्थित सम्पूर्ण कविहरुले आआफ्नो कविता बाचन गर्दै माहोललाई साहित्यमा बाँधेका थिए।

यस्तै आजको कार्यक्रममा देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता तथा गण्डकी प्रदेशका माननीय दमयन्ती रुचालको प्रमुख आतिथ्यता तथा विभिन्न वडाका वडा अध्यक्ष , सङ्घका संस्थापक तथा पुर्व अध्यक्ष लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो। संस्थाका वरिष्ठ उपाध्यक्ष विनोद सिलवालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण महासचिव तितादेवी न्यौपानेले गर्नुभएको थियो।

महोत्सवमा बाल उद्यान, विभिन्न प्रकारका पिङ तथा झुलाहरु, कृषि प्रदर्शनी, बालमैत्री सामग्री प्रदर्शनी, जातीय पहिचान झल्कने घर र सामग्री प्रदर्शनी, औद्योगिक उत्पादनहरुको प्रदर्शनी, स्थानिय कृषि उत्पादन लगायतको प्रदर्शनी स्टलहरु समेत रहेको छ ।