देवचुली, मंसिर–८,
आगामी पौष २५ गतेदेखि माघ ९ गतेसम्म छैटौं देवचुली महोत्सवको आयोजना गरिने भएको छ। देवचुली उद्योग वाणिज्य संघको आयोजनामा १५ दिनसम्म चल्ने महोत्सव देवचुली १५ प्रगतिनगरस्थित देवचुली मल्टिप्लेक्स परिसरमा गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छैटौं देवचुली महोत्सवका विभिन्न गतिविधिलाई पत्रकार समक्ष राख्नुभएको थियो। पत्रकार सम्मेलनमा अध्यक्ष भुषालले यसपटकको महोत्सव विगतका वर्षहरूको महोत्सवकै निरन्तरताका साथमा क्रमभङ्गता समेत रहेको बताउनुभयो। उहाँले यस वर्षको महोत्सव पहिलो ऐतिहासिक देवचुली महोत्सव जस्तै उद्योग वाणिज्य संघ आँफैले आयोजना र व्यवस्थापन गर्ने बताउनुभयो।

-1763991980.jpeg)
नगरमा आयोजना हुने महोत्सवहरूले स्थानीय उत्पादन, कृषि, पर्यटन, व्यापार, व्यवसाय, कला, धर्म, संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्नुपर्ने भएकाले यसपटक उद्योग वाणिज्य संघ आँफैले सो कुराको पहलकदमी लिएको अध्यक्ष भुषालले जानकारी दिनुभयो। महोत्सवहरूमा हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक मनोरञ्जन, विभिन्न व्यापार व्यवसायका स्टल, पिङ्ग, झुलाका साथमा बोटे, माझी, मुसहर, मगर, थारु, लगायतका जातजातिका सांस्कृतिक घरहरू, फोटो र टिकटकका लागि विभिन्न सजावटका स्थलहरूका साथमा कृषि प्रदर्शनी, सहकारी, विद्यालय, सामुदायिक वन, दुग्ध डेरीका स्टल, बालमैत्री सामग्री प्रदर्शनी, सङ्ग्रहालय, विज्ञान, कला तथा प्रविधिहरूको प्रदर्शनी, हस्तकला, मूर्तिकला तथा स्थानीय उत्पादनहरूको प्रवर्धन गरिने देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । साथै उहाँले महोत्सवमा डान्स आइडल प्रतियोगिता, वक्तित्वकला प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, भलिबल प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, पानी पिउने प्रतियोगिताका साथमा साहित्यिक तथा कवि गोष्ठीको समेत आयोजना गरिने जानकारी दिनुभयो। अध्यक्ष भुसालका अनुसार यसपटकको महोत्सवमा फरकपन दिनका लागि जाति विशेषको उपस्थितिका लागि हरेक दिन फरकफरक जातिको पहिचान झल्कने पहिरनसहितको दर्शकहरूको उपस्थिति गराउने लक्ष्य रहेको बताउनुभयो।
-1763991981.jpeg)
देवचुली उद्योग वाणिज्य संघले छैटौं देवचुली महोत्सवका लागि टिकट दर रु १ सय तोकेको छ। साथै ब्यान्ड म्युजिक आउने दिनमा रु २ सय र दुर्गेश थापा आउने दिन रु ३ सय टिकट मूल्य रहने जानकारी दिएको छ । यद्यपि महोत्सवमा आउने ब्यान्ड र दुर्गेश थापाले आफ्नो मूल्य नबढाए महोत्सव प्रवेशको टिकट मूल्य समेत नबढ्ने बताउनुभयो। यसैगरी महोत्सव प्रवेशका लागि विद्यार्थीहरूको टिकट शुल्कमा ५०% छुट दिइएको छ। अपाङ्गता भएका व्यक्तिहरु, पाँच वर्ष मुनिका बालबालिका र ७० वर्षमाथिका जेष्ठ नागरिक, पत्रकार, सुरक्षाकर्मी, नगरपालिकाका जनप्रतिनिधि, जिल्ला प्रशासन र नगरपालिकाका कर्मचारी, मुख्य प्रायोजक तथा प्रायोजकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ।
छैटौं देवचुली महोत्सवमा करिब १५ करोडको आर्थिक कारोबार हुने र १ लाख ५० हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गर्ने उद्योग वाणिज्य संघले लक्ष्य लिएको छ। महोत्सव सञ्चालनका लागि करिब ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ। महोत्सवमा प्रायोजन गर्न चाहने संघसंस्थाहरूले रु ५ हजार देखि २ लाखसम्म प्रायोजन गर्न सक्नेछन्।
-1763991983.jpeg)
सोमबार भएको पत्रकार सम्मेलन कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विनोद सिलवालले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संघकी महासचिव तिलादेवी न्यौपानेले गर्नुभएको थियो। पूर्व अध्यक्ष रेशमलाल सापकोटाले धन्यवादसहित कार्यक्रमको समापन गर्नुभएको थियो। पत्रकार सम्मेलन कार्यक्रममा देवचुली उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष धर्मराज बस्याल, मुख्य प्रायोजक संस्था देवचुली मल्टिप्लेसका सञ्चालक देव भुसाल, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, लगायत देवचुली उद्योग वाणिज्य संघका पदाधिकारी, कर्मचारी, सल्लाहकार र विभिन्न समिति, उपसमितिका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।