नवलपुर
राष्ट्रिय स्क्राबल च्याम्पियनसिपका लागि नवलपुरबाट आठ विद्यार्थी छानिएका छन्। प्याब्सन नवलपुरको आयोजनामा शनिबार देवचुलीको विश्वज्योति माध्यमिक विद्यालयमा आयोजना गरिएको जिल्ला स्तरीय स्क्रावल प्रतियोगिताबाट आठ विद्यार्थी राष्ट्रिय च्याम्पियनसिपका लागि छानिएका हुन्।

राष्ट्रिय च्याम्पियनसिपका लागि छानिएका विद्यार्थीहरूमा विश्वज्योति माध्यमिक विद्यालयका प्रनिश बास्तोला र आदित्य रानाभाट, गैंडाकोट इङ्लिस स्कुलका संकल्प देवकोटा र ऋषभ भण्डारी, अक्सफोर्ड सेकेन्डरी स्कुलका सुयोग आचार्य, लुम्बिनी आवासीय माध्यमिक विद्यालयका आरुष भण्डारी र थुम्कीदेवी ब्राइट फ्युचर इङ्लिस बोर्डिङ स्कुलका दिशम सार्की र सिद्धार्थ शान्ति निकेतनका दिक्पल कार्की रहेका छन्।
शनिबार विश्वज्योति माध्यमिक विद्यालयको सभाहालमा आयोजित जिल्ला स्तरीय स्क्राबल च्याम्पियनसिप कार्यक्रमको अध्यक्षता प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष दीपक रावतको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रावतले स्क्राबलl प्रतियोगिताले विद्यार्थीहरूको क्षमतालाई थप उजागर गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय स्क्रावल च्याम्पियनसिपमा नवलपुरका विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा स्क्राबल क्लव नेपालका राष्ट्रिय सल्लाहकार हिरालाल अर्याल, पूर्व जिल्ला संयोजक बिना कोइराला, जिल्ला संयोजक बिरु केसी लगायतले शुभकामना राख्नुभएको थियो। स्क्राबल च्याम्पियनसिपको आतिथ्य विद्यालय विश्वज्योति विद्यालयका प्रिन्सिपल तथा स्क्राबल क्लब नेपालका राष्ट्रिय सल्लाहकार डा.प्रदीप बास्तोलाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण प्याब्सन नवलपुरका सचिव कान्तामणि चौधरीले गर्नुभएको थियो।

जिल्ला स्तरीय स्क्रावल च्याम्पियनसिपमा भूपू सैनिक प्रभात एकेडेमी, लुम्बिनी आवासीय माध्यमिक विद्यालय, अमर इङ्लिस स्कुल, मध्यबिन्दु स्काईलाइन एकेडेमी, लिटिल स्टेप एकेडेमी, ओएसिस इङ्लिस बोर्डिङ्ग स्कुल, विश्वज्योति माध्यमिक विद्यालय, बाल विकास इङ्लिस स्कुल, गैंडाकोट इङ्लिस स्कुल, सरस्वती निकेतन, नवलपुर एकेडेमी, थुम्की देवी ब्राइट फ्युचर इङ्लिस स्कुल, गण्डकी सेकेन्डरी बोर्डिङ स्कुल, अक्सफोर्ड सेकेन्डरी स्कुलंम, नमोबुद्ध इङ्लिस स्कुल, नोबेल एकेडेमी, आरम्भ एकेडेमी, सिद्धार्थ शान्ति निकेतन, साइनिङ इङ्लिस स्कुल र शान्तिदीप बोर्डिङ स्कुल गरी २० वटा संस्थागत विद्यालयहरूको सहभागिता रहेको थियो। एघारौँ राष्ट्रिय स्क्राबल च्याम्पियनसिप मङ्सिर १९ र २० गते हेटौडाको बाल जागृति इङ्लिस सेकेन्डरी स्कुलमा आयोजना हुने भएको छ।