देवचुली
नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार देवचुली नगरपालिकाको सभाहलमा संस्थाका अध्यक्ष डिल्लीराम कडरियाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो।

कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै अब्बल खानेपानी संस्था भएको स्मरण गर्दै नगरपालिका र खानेपानी संस्थाको पारस्परिक सम्बन्ध रहेको बताउनुभयो ।

उहाँले नगरपालिका भित्रका संस्थाहरूको विकासका लागि देवचुली नगरपालिका सधैं साथमा रहेको र सहयोग गर्दै आइरहेको बताउनुभयो।

कार्यक्रममा देवचुली नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं ११ का वडाध्यक्ष तिलप्रसाद काफ्ले, संस्थाका पूर्व अध्यक्ष एवं खानेपानी जिल्ला महासङ्घ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल, वडा नम्बर १३ का वडाध्यक्ष एकदेव पौडेल, नेपाली कांग्रेसका नगर उपसभापति भोजेन्द्र रायमाझी, नेकपा एमालेका नगर सचिव कमलकान्त वाग्ले, नेपाली कम्युनिस्ट पार्टी समाजवादीका नगर संयोजक विक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति शेरबहादुर केसी, राप्रपा नेपालका प्रतिनिधि यमप्रसाद भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

यसैगरी साधारण सभामा खानेपानी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य तथा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्साल र प्रगति नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताका तर्फबाट डिलबहादुर खत्री र राधा न्यौपानेले सुझाव सहितको शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले संस्थाको वार्षिक प्रगति विवरण र भावी योजनाका बारेमा प्रष्ट पार्नुभएको थियो। साथै संस्थाका कोषाध्यक्ष बिमला अधिकारीले कोषाध्यक्षको प्रतिवेदन, लेखा संयोजक जीवन श्रेष्ठले लेखा प्रतिवेदन र सुरक्षा योजना उपसमितिका सचिव रविचन्द्र गिरीले सुरक्षा योजना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साधारण सभाको बन्द सत्रमा खानेपानी संस्थाको आ.व. २०८२/८३ को वार्षिक योजना सर्वसम्मतले पारित भएको थियो। आ.व. ८२/८३ मा खानेपानी संस्थाले मुहान संरक्षण, तटबन्द, भौतिक संरचना निर्माण, खानेपानीको शुद्धतामा वृद्धि, कर्मचारी दुर्घटना बीमामा वृद्धि, बक्यौता रकमको असुलउपर, देवचुली १ को दाहसंस्कार घाटमा सार्वजनिक शौचालय निर्माण, छिमेकी खानेपानी संस्थासँग एकीकरणको पहल, लगायतका भावी योजनाहरू प्रस्तुत गरिएको थियो।

२८ औँ वार्षिक साधारण सभा कार्यक्रममा नवौं अधिवेशन सम्पन्न गर्न भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति, पूर्व समिति, लेखा समिति, सल्लाहकार समिति, पूर्व कर्मचारी, लगायतलाई सम्मान गरिएको थियो। यसैगरी प्रगतिनगर खानेपानी संस्थाको सेवा क्षेत्र दलदले बजार र प्रगतिनगर बजारमा स्मार्ट वाटर फिल्टर जडान गर्न सहयोग गर्ने गरिमा विकास बैंक दलदले शाखा र सिटिजन्स बैंक धारापानी शाखालाई समेत सम्मान गरिएको थियो।

प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपाध्यक्ष कृष्णबहादुर थापाको स्वागत मन्तव्य रहेको २८औ वार्षिक साधारण सभा कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णुप्रसाद न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका सेवा क्षेत्रभित्रका प्रतिनिधिमूलक उपभोक्ताहरू, सामाजिक तथा राजनीतिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
