एक धोक्रो चामल र १० गुइठा पिँडालु बोकेर,
बुबाले पोहोरसाल दशैमा किनिदिनुभएको धुत्रो स्कुल ड्रेसमा,
भविष्यको नक्सा खोज्न,
म शहर पसेको 
धेरै वर्ष भएछ !
 
धेरै वर्ष भएछ:-
आमाले निस्किनेबेला 
"लाँ नानी भाडा" भनेर 
आँसुले धोएर दिनुभएको 
१०० रुप्पेको सुकिलो नोट,
जोगाएर 
सपनाको खुत्रुकिमा राखेको !
 
धेरै वर्ष भएछ:-
बुबाले मल खन्दाखन्दैको हात टाउकोमा राखेर
"केइ गरेर मात्रै गाउँ फिरेस् मुर्दार" भनेर दिएको आशिष,
जिन्दगीको रिङ्टोन बनाइ बजाइ रहेको !
 
धेरै वर्ष भएछ:-
हजुरबुबाले "नबिगृएस/नबरालिएस/घर सम्झेस" भनेर 
कन्सेरिमा सिउरिदिनुभएको,
एक थुङ्गो तिउरी फुल 
भविष्यको फुलदानिमा फुलाइ राखेको !
 
सहर पसेर,
मेरो पैतलाहरु सडकको छातीमा हिडिरहे -  गन्तव्यको सुदुर क्षितिज  ठम्माउन ! 
तर यी सडकहरु मात्रै
घटाइरहेछन,
मेरा पाइतलाका आयुहरु।
 
हर साझ छतमा जन्छु,
आकशलाई अलि तल बोलाउछु !  ताकी थपिदिउ:-
केही मेरा सपना/रहरहरुका ताराहरु !
तर अफसोच 
सहरको आकाश पनि पछ्पात गर्छ  !
सायद भैसकेका छन्
उसका नजरहरुलाई मोतिबिन्दु।
 
मैले धेरै केही मागिन शहरसँग;
बस्,
एक आत्मियता मागे, मन सँग मनको!
समबेदना महसुस गर्ने एक जोर आँखाहरु मागे !
भोकको बदलामा केही थान कामहरु मागे !
सास फेराईमा मिसिएका केही चहकिला आशाहरु मागे !
 
शहरी गरिबीसँग हैरान भएर बसिरहँदा कुनै चिया चमेनामा,
आज एक्कासि मैले,
पल्लोघरे काकि र उहाँले दिने 
एक गिलास तातो दूध सम्झिन पुगे !
जब मेरै गाउँको बसबाट 
एक धोक्रो चामल 
र,
दुई थान फुटेका खुट्टाहरु घिसार्दै आएको 
युवकले मलाई सोध्यो,
दाइ शहर पस्ने मुल गेट यहि हैन ??
 
©राजु झल्लु प्रसाद