मध्यविन्दु
मध्यविन्दु नगरपालिका–१५ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुलाई लक्षित गरी महिनावारी स्वच्छता तथा पुनःप्रयोग योग्य प्याड बनाउने तालिम सम्पन्न भएको छ।
जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा, क्यान्नलानको सहयोग र विद्यालयको समन्वयमा सम्पन्न तालिम विद्यालय बालक्लवकी सचिव स्मारिका महतोको अध्यक्षता, विद्यालय बालक्लव तथा लैंगिक सम्पर्क शिक्षक इनिस महतोको प्रमुख आतिथ्य र वडा सचिव भोलानाथ आचार्यको विशेष आतिथ्यतामा सम्पन्न गरिएको थियो।
-1755523812.jpeg)
साथी शिक्षक सजिना अधिकारीले तालिम सञ्चालन गरेकी थिइन् भने सितल चौधरीले महिनावारी अघि देखिने लक्षण, खानपान र ध्यान दिनुपर्ने पक्षबारे सहजीकरण गरिन्। त्यस्तै, रितु घर्ती मगरले महिनावारी स्वच्छताको महत्त्व तथा घरायसी र बजारमा पाइने प्याडको फाइदा–बेफाइदाबारे जानकारी दिइन्। सामाजिक परिचालक रुपा भट्टराई काफ्लेसहित प्रशिक्षकहरूले किशोरीलाई कपडाको प्याड बनाउने तरिका र सुरक्षित पुनःप्रयोग गर्न सकिने सीप सिकाएका थिए।
कार्यक्रम अधिकृत राधा देवी बोटेले जागृति बाल तथा युवा सरोकार नेपालले पालिकासँग समन्वय गरी ३० जना साथी शिक्षकमार्फत विद्यालय र समुदायमा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको र विद्यालयमा किशोरीमैत्री शौचालय मर्मतका लागि पनि सहयोग गरेको बताइन्।

तालिममा सहभागी कक्षा ८ की विद्यार्थीनी जानकी चौधरीले कपडाको प्याड बनाउन र सुरक्षित ढंगले प्रयोग गर्न सक्ने सीप सिकेको अनुभव सुनाउँदै अझै पनि कतिपय ठाउँमा कायम रहेको छाउपडी प्रथा अन्त्य गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा राखिन्।
लैंगिक सम्पर्क शिक्षक इनिस महतोले घरमै प्याड बनाउन सक्ने उपायबारे सिकाएकोमा साथी शिक्षकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि आवश्यक चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरे। तालिमकी अध्यक्ष स्मारिका महतोले विद्यालयमा महत्त्वपूर्ण तालिम आयोजना भएकोमा खुसी व्यक्त गर्दै विद्यालय प्रशासनलाई धन्यवाद दिइन्।
तालिमको क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम पाण्डे, वडा सचिव भोलानाथ आचार्य, विद्यालय स्वास्थ्य सम्पर्क शिक्षक रिना श्रेष्ठ लगायतले अनुगमन तथा अवलोकन गरेका थिए।
-1755523812.jpeg)
यस अवसरमा प्रशिक्षकहरूले महिनावारी स्वच्छता केवल स्वास्थ्यसँग सम्बन्धित नभई किशोरीको शिक्षा, आत्मविश्वास र सामाजिक जीवनसँग प्रत्यक्ष जोडिएको बताएका थिए। अस्वच्छ महिनावारी अभ्यासका कारण मूत्राशय, प्रजनन प्रणालीसम्बन्धी रोग र दीर्घकालीन स्वास्थ्य समस्या देखा पर्न सक्ने भएकाले किशोरीमैत्री वातावरण र सचेतनामूलक कार्यक्रमहरू अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।
कार्यक्रममा विद्यालय बालक्लवका प्रतिनिधि, किशोरी, साथी शिक्षक, वडा तथा विद्यालयका प्रतिनिधि र जागृति बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि गरी २८ जनाको सहभागिता रहेको थियो।