मध्यबिन्दु
मध्यबिन्दु नगरपालिका वडा नं. ११ मा वडास्तरीय बाल क्लब पुनर्गठन गर्दै बाल क्लबका पदाधिकारी तथा बालबालिकालाई लक्षित गरी बाल अधिकार, किशोरी अधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

द्वारदहस्थित विरेन्द्र माध्यमिक विद्यालयमा सम्पन्न उक्त कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा, क्यान्नलान को सहयोग तथा जिल्ला प्रहरी कार्यालय नवलपुर र मध्यबिन्दु नगरपालिका वडा नं. ११ को समन्वयमा सञ्चालन गरिएको हो।

कार्यक्रममा वडास्तरीय बाल क्लबकी पूर्व सचिव रिसिका गिरी को सभाध्यक्षता रहेको थियो भने वडा नं. ११ का वडाध्यक्ष महेश्वर भुसाल प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो। साथै विरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक टेक बहादुर राना, बाल क्लब सम्पर्क शिक्षक मधुसुदन देवकोटा, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि, बाल क्लबका पदाधिकारी तथा बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालकी सिनियर प्रोग्राम अफिसर राधा देवी बोटे ले कार्यक्रमको उद्देश्य, किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत वडा, पालिका, विद्यालय तथा समुदायस्तरमा सञ्चालन भइरहेका गतिविधिहरू, साथै बालमैत्री स्थानीय शासनको अवधारणा र यसको महत्वबारे जानकारी गराउनुभयो।
त्यसैगरी साथी शिक्षक रितु घर्ती मगर ले बाल अधिकारको अवधारणा, किशोरी अधिकार, बालमैत्री स्थानीय शासनका सूचकहरू, राम्रो छुवाइ र नराम्रो छुवाइ, बालबालिकामाथि हिंसा वा दुर्व्यवहार भएको अवस्थामा समन्वय गर्न सकिने निकायहरू तथा उपलब्ध हटलाइन नम्बरहरूबारे जानकारी दिनुभयो। साथै उहाँले बाल क्लबको भूमिका र जिम्मेवारीबारे पनि स्पष्ट पार्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि महेश्वर भुसाल ले नवगठित बाल क्लबलाई सक्रिय र प्रभावकारी रूपमा कार्य गर्न शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले वडामा बाल विवाहसम्बन्धी जानकारीको अभाव देखिएकाले यसको न्यूनीकरणका लागि बाल क्लबमार्फत सचेतना र सूचना प्रवाह आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै बाल विवाह रोकथाम तथा विभिन्न कार्यक्रमका लागि प्रक्रिया अनुसार तथ्यांक संकलन गरी पहल भएमा बाल क्लबलाई केन्द्रित गर्दै बजेट विनियोजनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभाध्यक्ष रिसिका गिरी ले यसअघि बाल विवाहसम्बन्धी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको उल्लेख गर्दै यसपटक बालबालिका तथा बाल अधिकार अन्तर्गत पर्ने विषयहरूबारे थप ज्ञान हासिल गर्न पाएको बताउनुभयो। यस्ता महत्वपूर्ण विषयमा केन्द्रित अभिमुखीकरण कार्यक्रम आयोजना तथा सहजीकरण गरेकोमा उहाँले सहजकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा सहभागी बालबालिकालाई बाल अधिकार तथा बालसम्बन्धी कानुनी जानकारीका पुस्तक, बालमैत्री स्थानीय शासन सम्बन्धी सामग्री तथा बाल विवाहसम्बन्धी कथापुस्तक वितरण गरिएको थियो। साथै वडा भित्रका विभिन्न टोल तथा विद्यालयबाट प्रतिनिधित्व हुने गरी ११ सदस्यीय वडास्तरीय बाल क्लबको पुनर्गठन सफलतापूर्वक सम्पन्न गरिएको छ।
कार्यक्रममा ४२ जनाको सहभागिता रहेको थियो। साथै सामाजिक परिचालक रुपा भट्टराई काफ्ले तथा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गतका साथी शिक्षक सीता सेन ठकुरी र सरिता सोमै को समेत उपस्थिति रहेको थियो।