राष्ट्रिय बाल सहभागिता दिवस–२०८२ को अवसरमा मध्यविन्दु नगरपालिका–१ मा वडास्तरीय बाल क्लबका पदाधिकारी तथा बालबालिकाहरुलाई बाल अधिकार, किशोरी अधिकार र बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमको आयोजना जागृती बाल तथा युवा सरोकार नेपालले गरेको हो भने क्यान्नलानको सहयोग, कन्सोर्टियम नेपाल, जागृती बाल क्लब नेपाल, जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.पु.०) र मध्यविन्दु वडा नं. १ को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा जागृती बाल तथा युवा सरोकार नेपालकी कार्यक्रम अधिकृत राधा देवी बोटेले बालमैत्री स्थानीय शासनको अवधारणा, सूचक, बाल विवाहसम्बन्धी कानुनी प्रावधान, हिंसा तथा दुर्व्यवहारबारे सचेतना, सहयोग प्राप्त गर्न सकिने निकाय र हटलाइन नम्बरबारे विस्तृत जानकारी दिइन्। उनले बाल क्लब स्थापनाका लागि अग्रजहरूले गरेको योगदान र बलिदानको महत्व पनि स्मरण गरिन्।

त्यसैगरी किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गतकी साथी शिक्षक अनिसा पौडेलले बालबालिकाको परिभाषा, बाल अधिकारका चार आधार स्तम्भ, बाल क्लबको भूमिका र जिम्मेवारी तथा ‘राम्रो र नराम्रो छुवाई’ जस्ता विषयमा प्रशिक्षण दिइन्। उनले बालबालिकाले समस्याबारे अभिभावक वा शिक्षकलाई खुला रूपमा जानकारी दिनुपर्नेमा जोड दिइन्।
सहजकर्ता किशोरी अभियन्ता संगिता बिकले विद्यालय र समुदायमा किशोरीहरूले गर्दै आएका गतिविधिबारे जानकारी दिँदै सबैको सहभागिताले मात्र अभियान सफल हुनेमा विश्वास व्यक्त गरिन्।
कार्यक्रममा सहभागी नवज्योति आधारभूत विद्यालयका सल्लाहकार समिति सदस्य लक्ष्मी खत्रीले पहिलो पटक यस्तो कार्यक्रममा सहभागी भएर नयाँ ज्ञान प्राप्त भएको अनुभव सुनाइन्। प्रमुख अतिथि रेम कुमारी महतोले अधिकारसँगै कर्तव्यबोध गराउने यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
वडास्तरीय बाल क्लबका सचिव गिर बहादुर खत्रीको अध्यक्षता तथा वडा सदस्य रेम कुमारी महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३५ जना सहभागी थिए। कार्यक्रम खेल तथा अन्तरक्रियात्मक विधिबाट सञ्चालन गरिएको थियो।