प्रिय, 
 समय छैन सोझो 
 बाटो छैन सोझो 
 चाहना छैन सोझो 
 र
 स्वार्थ छैन सोझो !
 मलाई यत्ति थाहा छ,
 तिमीलाई बाङगो देख्न 
 मैले आफ्नै आँखा बङग्याउनु पर्छ,
 बङग्याउनु पर्छ मेरो सपाट दृष्टि !
 तिमीलाई बाङगो भन्न
 मैले आफ्नै मुख बङग्याउनु पर्छ,
 बङग्याउनु पर्छ मेरो अन्तरको आवाज !
 मेरो सिधा दृष्टि 
 र 
 सोझो आवाज संग 
 मलाई प्रेम भए जस्तै 
 तिम्रो स्वभाविक भ्रम संग पनि मलाई उत्तिकै प्रेम छ !
 समय बाँगो भएको बेला 
 प्रेम भ्रम र भ्रम प्रेम हुनु अनौठो हैन !
तिमीलाई पनि त 
 कहलिन मन लाग्दो हो-
 म फलानोको मान्छे 
 म उड्ने आकास यो 
 म रम्ने परिवेश यो !
 तिमीलाई पनि त लाग्दो हो 
 भोलीका अफ्टेराहरू संग डर !
 अनि हुँदो हो
 आजका सहजताहरू संग प्यार !
गोठ छोडेको प्राणी 
 सबै भन्दा फुर्तीले उफ्रिए जस्तै,
 घर छोडेको सन्तान 
 अहंकारले डुक्रिए जस्तै 
 तिमीलाई पनि त उफ्रिनु छ होला
 केही स्वतन्त्रताहरू संगै !
 बहकिनु छ होला 
 केही स्वच्छन्दताहरू संगै !
उडी जाने सबै चरी चारो टिपेर 
 कहाँ फर्कन्छन र गुँडमा ?
 स्वभाव हो प्राणीको,
 हरियोले तानिनु !
 आदत हो मानिसको,
 मायाले मन भरिनु !
 मलाई विश्वास छ- 
 उड्ने बादलहरूले पनि 
 एकदिन पानी पार्नेछन !
प्रिय,
 चाहारेर सके पछि रहरका सबै बजार 
 अन्तिममा पुग्नू खेलौना बजारमा,
 त्याहाँ हरेक प्रकारका खेलौना भेटिनेछन !
-आमा जस्तो खेलौना 
 -बा जस्तो खेलौना 
 -प्रियतम जस्तो खेलौना 
 -प्रियतमा जस्तो खेलौना 
 -दाजु भाई जस्तो खेलौना 
 -दिदी बैनी जस्तो खेलौना 
 -सन्तान जस्ता खेलौना 
 -आफ्ना आफन्त जस्ता खेलौना 
 र
 -साथी संगी जस्ता खेलौना !
कानमा गएर फुस्फुसाउनु सबको 
 र सोध्नु 
 सम्बन्ध के हो ?
 जवाफ दिएछन भने कसैले, 
 मलाई सम्झिनू !
 मौन बसेछन भने खेलौनाहरू, 
 हेर्नू ऐनामा एकपटक 
 र 
 आफैलाई सम्झाउनू !
प्रिय,
 खेलौनाहरूको बजारमा
 केही खेलौनाहरूलाई बोल्ने बनाइएको हुन्छ
 केहीलाई मौन राखिएको हुन्छ !!
 
हेमन्त गिरी, जापान