पूर्वी नवलपरासी जिल्लामा दुई साताअघिदेखि गरिएको बन्द खुकुलो पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले आज एक सूचना सार्वजनिक गरी अत्यावश्यक सेवा, सरकारी र सार्वजनिक कार्यालय स्वास्थ्य सुरक्षा अपनाएर सेवा प्रवाह गर्न आग्रह गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्डको पालना हुने गरी ब्यवस्था मिलाउन सेवा प्रदायक संस्थाका प्रमुखहरुलाई निर्देश गरिएको छ ।
यस्तै, जिल्ला भित्र सञ्चालित उद्योग प्रतिष्ठानहरुलाई पनि स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न छुट दिइएको छ ।पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी सूचनामा यात्रुबाहक सार्वजनिक सवारी साधनहरु भने सञ्चालन गर्न रोक लगाइएको छ । अर्को आदेश नहुँदासम्म यात्रुबाहक सार्वजनिक सवारी सञ्चालन नगर्न, नगराउन भनिएको छ ।मानिसहरु भेला भइ गरिने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, जमघट नगर्न तथा शैक्षिक संस्थाहरु सञ्चालन गर्न भने रोक लगायएको छ ।
पार्टी प्यालेस, डान्सबार, लगायतका मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लर, स्वीमिङपुल, जिमखाना लगायतका हेल्थ क्लव, समूहमा खेलिने खेलकूद, धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय र संग्राहलय सञ्चालन गर्न पनि रोक लगाइएको छ ।
