चितवन, जेठ १३
नेपाल प्रेस युनियन चितवन शाखाले रजत वर्ष कार्यक्रम शुभारम्भ गरेको छ । स्थापना दिवसको अवसरमा युनियनले आजदेखि रजत वर्ष कार्यक्रम शुभारम्भ गरेको हो । स्वास्थ्यलाई मध्यनजर गर्दै युनियनले जिल्लामै पहिलो पटक हिड्ने ‘वाकाथुन’ कार्यक्रम गरी रजत वर्ष शुभारम्भ गरेको हो ।भरतपुरको चौविसकोठीबाट सुरु भएको वाकाथुन नारायणगढको पुलचोकमा पुगेर समापन भएको थियो । ‘हिडौं, स्वस्थ बनौं’ भन्ने नारासहित भएको ‘वाकाथुन’मा नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठ, प्रदेश सांसद विजय सुवेदी, नेकपा चितवनका नेता तेजेन्द्र खड्का, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह, प्रमुख जिल्ला अधिकारी जितेन्द्र सिंह ठकुरी, प्रहरी उपरीक्षक सुशील सिंह राठौंर, ट्राफिक प्रमुख चन्द्रप्रसाद गिरी, जिल्लाका उद्योगी व्यवसायी, विद्यार्थी, पत्रकारलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरुगरी पाँच सय सहभागि थिए । स्वास्थ्यसंग सबै क्षेत्र जोडिने भएकोले जनचेतना मुलक जिल्लामै पहिलो पटक ‘वाकाथुन’ कार्यक्रम गरिएको संयोजक राजु चौधरीले जानकारी दिए । कार्यक्रम शुभारम्भमा नेपाल चिकित्सक संघ चितवनका सचिव फिजिसियन डा. भोजराज अधिकारीले हिड्नुको फाईदा बारे जानकारी गराएका थिए । उनले नियमित हिडाईले शारीरिक तथा मानसिक फाईदा पुग्ने बताए । उनले हरेक दिन ३० मिनेट हिड्न सुझाब दिए । नियमित हिडाईले उच्च रक्तचाप, मधुमेह, कोलस्टोर नियन्त्रण गर्नुका साथै हड्डी र मासुको समस्या कम हुने डा.अधिकारीको भनाई छ ।सो अवसरमा युनियनका जिल्ला अध्यक्ष अनिल ढकालले सबै नागरिक स्वस्थ नबने सम्म मुलुक सम्बृद्ध नहुने भएकाले स्वस्थ राख्न साँकेतिक रुपमा वाकाथुन कार्यक्रम गरिएको बताए । वि.सं. २०४८ साल जेठ १३ गते युनियनको केन्द्रिय समिति गठन भएको थियो । त्यसको दोस्रो वर्षमा चितवनमा शाखा स्थापना गरिएको थियो । २५ वर्ष पुरा भएको वर्षमा भवन निर्माणमा केन्द्रीत भएको युनियनले यसवर्ष रजत वर्ष मनाउन लागेको हो । रजत वर्षका अवसरमा युनियनले श्रमजिवि पत्रकारहरुको अबस्था र कार्यान्वयनको विषयमा अन्तरक्रिया, सरकारी निकायका सूचना अधिकारीसंग पत्रकारको अन्तक्र्रिया, खुल्ला फोटो प्रतियोगिता, महिला पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण, जिल्लामा रहेर २५ वर्षभन्दा लामो समयदेखि पत्रकारिता गर्ने पत्रकारहरुलाई सम्मान लगायतका कार्यक्रम तय गरेको छ ।सोही अवसरमा अन्तर मिडिया फुटसल प्रतियोगिता, पत्रकारका लागि आँखा एवंम दन्त परीक्षण, साँस्कृतिक कार्यक्रम, जिल्लाको पहाडी क्षेत्रमा स्वास्थ्य शिविर, भ्रमण वर्ष २०२० मा केन्द्रीत भई पर्यटन विकास लक्षित कार्यक्रम, पिछडीएको बस्तिमा क्यान्सर सचेतना कार्यक्रम, वातावरण संरक्षण सम्बन्धी सचेतना अभियान, रजत स्तम्भ अनावरण तथा स्मारिका विमोचनसंगै समापन कार्यक्रम गरिने अध्यक्ष ढकालले जानकारी दिए । देशभरमा युनियनको आफ्नै भवन निर्माण गर्ने चितवन पहिलो र एक मात्र शाखा हो ।