काठमाण्डाै, भदौ १७
काठमाण्डौ महानगरपालिका–८, गौशालामा रहेकाे भण्डारखाल जङ्गलमा मंगलबार बिहान खोटाङका एक महिला र एक पुरुषकाे झुण्डिएकाे अवस्थामा शव फेला परेकाे छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भएर काठमाण्डौको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाईकाे शव मंगलबार बिहान सँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेकाे महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिनुभयो । मर्निङ वाकमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा दुवैकाे शव झुण्डिएको अवस्थामा फेला परेको गौशाला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाइ दुवै शव परीक्षणका लागि महाराजगञ्जमा रहेकाे शिक्षण अस्पतालमा लगिएको जानकारी दिनुभयो । उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ । बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदुरी गर्दथे । मंगलबार बिहान गिरीकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताउनुभयो । खोटाङ बस्दै आएकी दमाई काठमाण्डौ आएको कारण भने खुलेको छैन । उनी काठमाण्डौमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ ।