पूर्वी नवलपरासीमा पछिल्लो एक बर्षमा मानव अधिकार हननका ५० वटा घटना भएका छन् । सोमबार पूर्वी नवलपरासीको कावासोतीमा इन्सेक नवलपुरले आयोजना गरेको बार्षिक पूर्व समिक्षा गोष्ठीमा दिइएको जानकारी अनुसार नवलपुरमा मात्रै ५० वटा मानव अधिकार हननका घटना भएको बताइएको थियो ।
इन्सेक नवलपुरका प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार ति मध्ये सबैभन्दा बढी अर्थात २६ वटा बलात्कार तथा यौनदुव्र्यवहारका घटना भएका छन् । जसमा बालिकामा भएको बलात्कार तथा यौनदुव्र्यवहारका घटना १९ वटा रहेको छ भने महिलामाथि भएको बलात्कार र बलात्कारको प्रयासका घटना ७ वटा रहेका छन् ।
सन् २०२० मा नवलपुरमा राजनीतिक आस्थाका आधारमा विप्लप नेतृत्वका नेकपाका कार्यकर्ता गिरफ्तारका ३ वटा घटना भएको, प्रहरीका गोली लागि १ जना घाइते भएको, एक जना पत्रकारमाथि दुव्र्यवहार भएको, कुटपिट तथा अंगभंग सम्बन्धी घटना एउटा भएको इन्सेक नवलपुरले जनाएको छ ।
त्यसैगरी बालअधिकार अन्तरगत विद्यालयमा कुटपिटको घटना एउटा, गैरराज्य पक्षबाट हत्याका घटना २ वटा, महिला हिंसा सम्बन्धी १३ वटा र सम्पत्ति क्षतिसम्बन्धि २ वटा घटना अभिलेखिकरण भएको इन्सेक नवलपुरका प्रतिनिधि डुम्रेले कार्यक्रममा जानकारी गराए ।
डुम्रेले कार्यक्रममा कतिपय बलात्कारका घटनाहरु आफन्तै तथा घरपरिवारकै मानिसबाट हुँने गर्दा त्यस्ता घटनाहरु प्रहरी तथा अदालतसम्म नपुग्ने गरेको समेत बताए ।
कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले घटनाहरु प्रहरी, प्रशासन तथा अदालत समक्ष नपुगे तापनि आफूहरुलाई कुनै स्रोतबाट जानकारी आए बलात्कार जस्ता जघन्य अपराधका घटनाका दोषीलाई कारवाहीको भागीदार गराउनबाट प्रशासन पछि नहट्ने बताए ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले सुरक्षा निकायले आफ्नोतर्फबाट मानवअधिकार हननका घटना रोक्न आवश्यक कदम चाल्ने बताए ।