कावासोती,
कावासोतीको शिवमन्दिर स्वास्थ्य चौकी अट्ठाईस विगाहामा सोमबार गर्भ निरोधकका साधन सायना प्रेस सुई सम्बन्धी सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम गरीएको छ । स्वास्थ्य संस्थाबाट उपलब्ध परिवार नियोजन लगायत हालै संचालित गर्भ निरोधकका ३ महिने अस्थायी साधन सायना प्रेस सुइ सेवाका विषयमा सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम गरीएको आइ पास नेपाल नवलपुरका कार्यक्रम तथा अनुसन्धान अधिकृत राम कुमार शाहले जानकारी दिए ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाको अगुवाईमा बेलायत सरकार डिएफआईडिको सहयोगमा आइ पास नेपालद्धारा नवलपुरका ४ स्थानिय तहका विभिन्न ७ स्वास्थ्य संस्थाहरुमा परिवार नियोजनका ३ महिने अस्थायी साधन सायना प्रेस सुइको संभाव्यता र स्वीकार्यता अध्ययन गर्नका लागी कार्यक्रम गरीएको आइ पास नेपाल नवलपुरका कार्यक्रम तथा अनुसन्धान अधिकृत शाहले जानकारी दिए । नेपालको सिन्धुली र नवलपुर जिल्लामा छानिएका १४ वटा सरकारी स्वास्थ्य संस्थाहरुमा यो सेवा निःशुल्क उपलब्ध रहेको छ भने तालिम प्राप्त स्वास्थ्यकर्मीबाट ती संस्थाहरुमा सायना प्रेस सुई सेवा निःशुल्क लिन सकिने शाहको भनाई छ । शाहका अनुसार नवलपुरका ४ स्थानिय तह अन्तरगत कावासोती नगरपालीका, देवचुली नगरपालीका, हुप्सेकोट गाउँपालीका र विनयी त्रिवेणी गांउपालीकाका विभिन्न ७ वटा स्वास्थ्य संस्थाहरु पिठौली स्वास्थ्य चौकी, शिवमन्दिर स्वास्थ्य चौकी, अग्यौली स्वास्थ्य चौकी, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, रजहर, देउराली, दुम्कीवास स्वास्थ्य चौकी अन्तर्गतको स्वास्थ्य संस्थाबाट उपलब्ध परिवार नियोजन लगायत हालै संचालित गर्भ निरोधक सुई सायना प्रेस सेवा सम्बन्धि सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम गरीएको छ । जस अन्तरगत आईतबार पिठौली स्वास्थ्य चौकीमा कार्यक्रम गरीएको थियो भने सोमबार शिवमन्दिर स्वास्थ्य चौकी अट्ठाईस विगाहामा कार्यक्रम गरीएको छ । कावासोती नगरपालीका वडा नं. ३ मा रहेको शिवमन्दिर स्वास्थ्य चौकीमा सेवा लिने करिब ३० जना महिलाहरुको उपस्थीति रहेको कार्यक्रममा महिला दिदिबहिनिहरुले आ–आफ्ना भनाई समेत राखेका थिए । भनाई राख्दै सहभागि महिलाहरुले सायना प्रेसको फाईदाहरु के के रहेका छन्?, सायना प्रेस सुइ कस्ता महिलाहरका लागी उपयूक्त हुन्छ?, यसका सामान्य असरहरु कस्ता हुन्छन्?, कस्तो अवस्थाका महिलाहरुले लगाउन हुने, नहुने विषयमा जिज्ञासा राखेका थिए । महिलाहरुले लगाउदै आएका अस्थायी साधन डिपो भन्दा सायना प्रेस सुइ प्रयोग गर्ने महिलाहरुको संख्या भने बढि रहेको पाईएको छ । आफुहरुले प्रयोग गरेका सायना प्रेस सुइले राम्रो गरेको भन्दै सहभागी महिलाहरुले आफुले लगायको अन्य सुईले पाखुरामा धेरै दुख्ने हुन्थ्यो भने सायना प्रेस सुईले नदुख्ने तथा आफैले समेत लगाउन सकीने भएकाले सजिलो भएको बताएका छन् ।


महिलाहरुका जिज्ञासालाई आइ पास नेपाल काठमाण्डौका अनुसन्धान अधिकृत संजिव कुमार सहानी, स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाई, शिवमन्दिर स्वास्थ्य चौकीका प्रमुख विश्व कंडेले, शिवमन्दिर स्वास्थ्य चौकीकी श्रीकुमारी दरलामीले महिलाहरुका जिज्ञासाका विषयमा जानकारी दिएका थिए । यसरी महिलाहरुले प्रयोग गर्ने गर्भ निरोधका ३ महिने अस्थायी साधन सायाना प्रेस सुइले स्वस्थ महिलाको हकमा स्वास्थ्यमा कुनै असर नपार्ने बताएका छन् । विषेशतः सरसफाइमा भने निकै ध्यान दिनु पर्ने उनिहरुको भनाई छ ।

त्यस्तै स्तन क्यान्सर भएका, महिनावारीको समयमा धेरै रगत बग्ने समस्या भएका, यौन सम्पर्कका समयमा अत्याधिक रक्तश्राव हुने समस्या भएका, मुटु, कलेजो सम्बन्धी समस्या वा रोग भएका, हड्डी खिईने रोगको जोखिम भएका जस्ता महिलाहरुले भने सायना प्रेस सुइ लगाउन भने नहुने आइ पास नेपाल काठमाण्डौका अनुसन्धान अधिकृत संजिव कुमार सहानीले बताएका छन् । शरिरमा कुनै पनि स्वास्थ्य सम्बन्धी समस्याहरु रहेका छन् भने ति समस्याहरलाई नलजाई नजिकका स्वास्थ्य संस्थामा गई परामर्श लिनु पर्ने भन्दै सहानीले सायना प्रेस सुईले स्वास्थ्यमा असर नपार्ने बताएका छन् ।
कार्यक्रममा कावासोती नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद नागिला, मध्यविन्दु नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख माधव पोखरेल लगायतले बोलेका थिए भने विष्णु गौडेलले कार्यक्रमको सहजीकरण गरेका थिए ।