देवचुली नगरपालिका वडा नम्बर १५ मा अवस्थित महाराजा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा नम्बर १०, ११, १४ र १५ लाई कार्यक्षेत्रका रूपमा समेट्ने उक्त सामुदायिक वनको कार्यालय परिसरमा साधारणसभा आयोजना गरिएको हो।
महाराजा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गनबहादुर रानाको अध्यक्षतामा सम्पन्न साधारणसभामा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा देवचुली–१० का वडा अध्यक्ष रेप्तीकुमार घर्ती मगर, देवचुली–१४ का वडा अध्यक्ष गोपाल थापा, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा वन उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साधारणसभामा अध्यक्ष रानाले प्रस्तुत गर्नुभएको वार्षिक कार्ययोजना तथा प्रगति प्रतिवेदन, लेखा संयोजक कमलप्रसाद न्यौपानेद्वारा प्रस्तुत लेखा प्रतिवेदन र कोषाध्यक्ष कमला भण्डारीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको आयोजकले जनाएको छ।

साधारणसभाको बन्द सत्रमा वन कटान तथा त्यसको सदुपयोग, विपन्न तथा असहाय उपभोक्तालाई सहुलियत दरमा काठ–दाउरा वितरण, चौथो अधिवेशनका लागि निर्वाचन समिति गठन, दोस्रो देवचुली गोल्डकपमा सहयोग गर्ने लगायतका महत्वपूर्ण विषयमा छलफल गर्दै निर्णयहरू गरिएको अध्यक्ष गनबहादुर रानाले जानकारी दिनुभयो।बन्द सत्रबाट जयनारायण सापकोटाको संयोजकत्वमा जीवन श्रेष्ठ, भविश्वर लम्साल, रामप्रसाद गौतम र रञ्जना सापकोटा न्यौपाने सदस्य रहेको निर्वाचन समिति गठन गरिएको छ।
साधारणसभाको खुला सत्रमा वक्ताहरूले सामुदायिक वनले उपभोक्ताको हितलाई केन्द्रमा राख्दै सामाजिक कार्यहरूमा अझ सक्रिय भूमिका खेल्नुपर्ने, वन संरक्षणमा सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको विषयमा जोड दिएका थिए। सहभागीहरूले आगामी कार्ययोजना सफलतापूर्वक कार्यान्वयन होस् भन्ने शुभकामना समेत व्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न सामुदायिक वनका अध्यक्षहरू, संघसंस्थाका प्रतिनिधि तथा वन उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। साधारणसभामा महाराजा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष टीकाराम पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण शोभा रानाले गर्नुभएको थियो।