दिव्यपुरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा पवनकुमार बुढाथोकी निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको नयाँ कार्यसमिति चयनसम्बन्धी निर्वाचनमा उहाँले आफ्ना प्रतिस्पर्धी तिलप्रसाद पाठकलाई २०७ मतको अन्तरले पराजित गर्दै नेतृत्व हात पार्नुभएको हो ।
कुल २४८९ मतदाता रहेको उक्त संस्थाको निर्वाचनमा १७३० मत खसेको थियो । अध्यक्ष पदको प्रतिस्पर्धामा बुढाथोकीले ७१७ मत प्राप्त गर्नुभयो भने पाठकले ५१० मत ल्याउनुभयो । यसैगरी तेस्रो उम्मेदवार पुरुषोतम गैरेले ३९७ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्ष पदमा पृथ्वी सारु निर्वाचित हुनुभएको छ । उहाँले ५७४ मत प्राप्त गर्दै महेन्द्रकान्त पौडेललाई पछि पार्नुभएको हो, जसले ५०२ मत ल्याउनुभएको थियो । सचिव पदमा सुरेन्द्र आचार्य विजयी हुनुभएको छ । आचार्यले ५४३ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी युवराज वाग्लेले ५३३ मत प्राप्त गर्नुभयो ।
कोषाध्यक्ष पदमा प्रेमाकुमारी खनाल निर्वाचित हुनुभएको छ । उहाँले ५५६ मत ल्याएर कान्ता पोखरेललाई पराजित गर्नुभएको हो, जसले ४९३ मत प्राप्त गर्नुभएको थियो । लेखा संयोजकमा रिपुबहादुर अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले ५८३ मत प्राप्त गर्दा भेषराज न्यौपानेले ४७४ मत ल्याउनुभएको थियो ।
महिला लेखा सदस्य पदमा मिनाकुमारी राई निर्वाचित हुनुभएको छ । उहाँले ५३१ मत प्राप्त गर्नुभयो भने सरस्वती सिग्देलले ५२६ मत ल्याउनुभयो । खुल्ला लेखा सदस्यमा गोपाल लम्साल विजयी हुनुभएको छ । लम्सालले ५१७ मत प्राप्त गर्दा बालकृष्ण कंडेलले ४९६ मत ल्याउनुभएको थियो ।
ब्लक सदस्यतर्फ ब्लक नं. १ बाट रुपनारायण महतो, ब्लक २ बाट टीकाराम भण्डारी, ब्लक ३ बाट हरिप्रसाद सुवेदी, ब्लक ४ बाट सावित्रा आचार्य, ब्लक ५ बाट प्रेमनारायण सिग्देल, ब्लक ६ बाट कमला रुचाल, ब्लक ७ बाट खुमनाथ लम्साल, ब्लक ८ बाट गोमा तिवारी र ब्लक ९ बाट कृष्णदत्त तिवारी निर्वाचित हुनुभएको छ ।
निर्वाचन परिणाम अनुसार अध्यक्ष बुढाथोकीसहित उपाध्यक्ष, सचिव र खुल्ला लेखा सदस्य उहाँकै प्यानलबाट निर्वाचित हुनुभएको हो । यस प्यानलबाट ब्लक १, ४, ७ र ९ का सदस्य विजयी भएका छन् । तिलप्रसाद पाठकको प्यानलबाट भने कोषाध्यक्ष, लेखा संयोजक, महिला लेखा सदस्य तथा ब्लक २, ३, ६ र ८ का सदस्य निर्वाचित भएका छन् । पुरुषोतम गैरेको प्यानलबाट ब्लक ५ सदस्य निर्वाचित भएका हुन् ।