देवचुली
देवचुली नगरपालिका भित्र रहेका बिभिन्न संघसंस्थाहरूको शोभायात्रा सहित छैटौं देवचुली महोत्सव सुरु भएको छ। देवचुली मल्टीप्लेक्सको प्रायोजन तथा देवचुली उद्योग वाणिज्य संघको आयोजनामा आज देखि सुरु भएको सोभायात्रामा नगरभित्रका विधालय , आमा समुह , सहकारी संस्था , सामुदायिक बन , टोल बिकास संस्था लगायत विभिन्न संघ संस्थाको ब्यानर सहित शोभायात्रा गरिएको थियो।

संघको कार्यालय परिसर देखि सुरु गरिएको शोभायात्रा महोत्सव स्थल पुगे संगै महोत्सवलाई औपचारिक रुपमा उद्घाटन गरिएको थियो।

देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षता तथा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रि मित्र बस्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा देवचुली मल्टिप्लेक्सका संचालक देव भुसाल , संघका संस्थापक अध्यक्ष धर्मराज बस्याल , चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ , उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण बैद्य , देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने , जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए।

सोहि क्रममा महोत्सवका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रि मित्र बस्यालले यो महोत्सवले यस क्षेत्रका कृषि, उद्योग, पर्यटन, व्यवसाय , स्थानिय उत्पादन लगायत समग्र क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास ब्यक्त गरेका थिए।

समुद्घाटन कार्यक्रममा भृकुटी इंगलिस स्कुल धारापानी र कालिका मावि विशालटारले सांस्कृतिक प्रस्तुति राखेका थिए भने नेपाल मावि केउरेनि र अमर इंगलिस स्कुल रजहरले परेड प्रस्तुत गरेका थिए।

कार्यक्रममा छैटौं देवचुली महोत्सव माथि प्रकाश पार्ने क्रममा देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सत्य नारायण भुसालले महोत्सव योजना गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै देवचुली महोत्सवलाई देवचुली बासीले गौरवका रुपमा लिएको बताउँदै महोत्सवका हरेक दिन हुने कार्यक्रमहरुमा नगरवासीहरूको सक्रिय सहभागिता हुने विश्वास व्यक्त गर्दै महोत्सव सफल हुनेमा आफु विश्वस्त रहेको बताएका थिए।

संघका वरिष्ठ उपाध्यक्ष बिनोद सिलवालको स्वागत मन्तब्य रहेको कार्यक्रममा संघका महासचिव तिलादेवी न्यौपाने र सत्यराज अधिकारीको सहजीकरण रहेको थियो भने गायक गणेश बिसी , तिलक कंडेल र गायिका सपना परियार लगायत अन्य कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहेको थियो।
