देवचुली नगरपालिकामा आयोजना गरिएको पाँचौँ देवचुली मेयर कप फुटबल प्रतियोगिताको उपाधि देवचुली वडा नम्बर १ ले जित्न सफल भएको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली–१ को सह–आयोजनामा देवी गैरा खेलमैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा देवचुली–१ विजयी बनेको हो।
शनिबार सम्पन्न फाइनल खेलमा देवचुली–१ ले देवचुली–१५ लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। खेलमा देवचुली–१ का गगन महतो र निशान्त महतोले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका निशान्त महतो ‘म्यान अफ दि म्याच’ घोषित भए।
फोटोः राजु चापागाँई
प्रतियोगिताको उपाधि जितेसँगै देवचुली–१ ले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको देवचुली–१५ ले ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। सेमिफाइनलसम्म पुगेका देवचुली–७ र देवचुली–११ ले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ देवचुली–१५ का सामएल थापा उत्कृष्ट खेलाडी घोषित हुँदा देवचुली–१ का सन्दीप मल्ल सर्वाधिक गोलकर्ता बने। त्यस्तै, देवचुली–१ कै सिसन महतो सर्वोकृष्ट गोलरक्षकको उपाधि जित्न सफल भए।
देवचुली नगरपालिकाभित्रका १५ वडाका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको समापन समारोह देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष दीपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। समारोहमा देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ठूलो संख्यामा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
फोटोः राजु चापागाँई
कार्यक्रममा वडा युवा तथा खेलकुद विकास समिति देवचुली–१ का अध्यक्ष प्रदीप काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिका सदस्य–सचिव प्रकाश काफ्लेले गरेका थिए। प्रतियोगिताको मुख्य प्रायोजक सागर डिस्टिलरी रहेको थियो भने दिव्य मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र केउरानी युवा क्लब विशेष सहयोगीका रूपमा रहेका थिए।