बुलिङटार
बुलिङटार गाउँपालिकाको आयोजनामा आज उत्कृष्ट विद्यार्थी, विषयगत शिक्षक, विद्यालय तथा प्रतिभावान विद्यार्थी खेलाडीहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट GPA प्राप्त गर्ने कक्षा ५ को स्तरमापन परीक्षा, आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० तथा कक्षा १२ का गरी कुल ९६ जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ। SEE मा GPA ३.६६ प्राप्त गरी सर्वाेउत्कृष्ट हुने विद्यार्थीलाई नगद रु. १० हजार सहित सम्मान गरिएको थियो भने अन्य तहगत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई क्रमशः रु. ५ हजार, रु. ४हजार र रु.३ हजार नगद सहित सम्मान गरिएको थियो।
त्यसैगरी, जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधामा पदक प्राप्त गर्ने प्रतिभावान खेलाडीहरूलाई पनि नगदसहित सम्मान गरिएको छ। तहगत रूपमा कक्षा ५, ८ र १० मा सबैभन्दा उत्कृष्ट औसत GPA हासिल गराउने कुल २२ जना विषयगत शिक्षकहरूलाई सम्मान गरिएको कार्यक्रम संयोजकले जानकारी दिए। यो संगै कक्षा ५, ८, १० र १२ मा उत्तीर्ण प्रतिशतका आधारमा प्रथम, द्वितीय र तृतीय हुने १० वटा विद्यालयहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, शिक्षा समिति सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गरिएको छ।
कार्यक्रम त्रिभुवन माध्यमिक विद्यालयमा सम्पन्न भएकाे थियाे । पालिका अध्यक्ष दिपेन्द्र सुनारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वहाँले कार्यक्रमलाई सम्बाेधन गर्दै आगामी वर्षहरूमा बुलिङटार गाउँपालिकाको शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नु भएकाे छ ।।