देवचुली नगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको देवचुली नगर अस्पताल एक भव्य समारोहका बीच समुद्घाटन गरिएको छ। १५ शय्याको आधारभूत अस्पतालका रूपमा कुल चौध करोड दश लाखमा निर्माण सम्पन्न गरिएको सुविधासम्पन्न नगर अस्पतालको देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपानेले समुद्घाटन गर्नुभएको हो। उद्घाटनका क्रममा नगरप्रमुख न्यौपानेले अस्पतालको मूलद्वारमा रहेको शिलालेख अनावरण गरी अस्पतालको विधिवत रुपमा समुद्घाटन गर्नुभयो। सो अवसरमा नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवनसँगको सहकार्यमा सञ्चालित आँखा उपचार केन्द्रको पनि नगर प्रमुख न्यौपानेले उद्घाटन गर्नुभयो। उद्घाटन पश्चात् नगरप्रमुख सहित नगरका जनप्रतिनिधि र आमन्त्रित व्यक्तित्वहरूले नवनिर्मित नगर अस्पताल भवनको अवलोकन गर्नुभएको थियो। नगर अस्पताल उद्घाटन पश्चात् आफ्ना मन्तव्य राख्नुहुँदै नगर प्रमुख न्यौपानेले देवचुली नगरपालिकाले स्वास्थ्य र शिक्षा जस्ता आधारभूत आवश्यकताका विषयमा गम्भीर भएर काम गरिरहेको बताउँदै नगर अस्पतालबाट आम नगरवासीले सहज रुपमा स्वास्थ्य उपचार पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नगर अस्पतालको संचालन पछि गम्भीर प्रकृतिका रोगबाहेक अन्य रोगका लागि चितवन वा काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो। साविक नवलपरासी जिल्लामा दुम्कौली हेल्थ सेन्टरको रूपमा स्वास्थ्य उपचार दिन सुरु गरेको देवचुली नगर अस्पतालले लामो इतिहासको विरासत बोकेको चित्रण गर्दै नगरप्रमुख न्यौपानेले नगर अस्पताल निर्माण हुनुमा अग्रजको समय, सामर्थ्य, दृढता र लगनशीलताका साथमा पछिल्लो पुस्ताका व्यक्तिहरूको तदारुकताले निर्माण सम्पन्न भएको बताउनुभयो।


-1767082660.jpeg)
देवचुली नगर अस्पताल सञ्चालक समितिका सदस्य एवं नगर उपप्रमुख पार्वता तिवारीको अध्यक्षतामा भएको नगर अस्पताल उद्घाटन कार्यक्रममा बोल्ने अतिथि वक्ताहरुले नगर अस्पताल निर्माणका पछाडि धेरैको कठिन संघर्षको प्रशंसा गर्दै अस्पताल सञ्चालनका क्रममा नगरवासीले सहज र सरल रुपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे, साविक दिव्यपुरी गाविसका पूर्व अध्यक्ष तिलप्रसाद पाठक, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका पूर्व कार्यालय प्रमुख डा. छविलाल थापा, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष एकदेव पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशव चापागाईं र लेखा अधिकृत नारायण ढकालले वाचन गर्नुभएको संस्थापक नगर प्रमुख पूर्णकुमार श्रेष्ठको शुभकामना मन्तव्य रहेको थियो। कार्यक्रममा अस्पतालले प्रदान गरेका सेवा र आम नगरवासीको स्वास्थ्य सेवालाई देवचुली नगर अस्पतालले आगामी दिनमा गर्ने सेवाका बारेमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.कमलराज न्यौपानेले भनाइ राख्नुभएको थियो। कार्यक्रममा आभानी मिडिया प्रा.लि. (ह्याप्पी एफएम)को सहकार्यमा तयार गरिएको अस्पतालको इतिहास समेटिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो। कार्यक्रममा जीवन विज्ञान परिषद् देवचुलीका प्रशिक्षक काशीराम चापागाईंको स्व-जागरण कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। यसैगरी जीवन विज्ञान स्वास्थ्य स्व-जागरण केन्द्र देवचुली ७ को सामूहिक नृत्य, देवचुली स्काउटको मार्च पास, देवचुली १४ मा रहेको आमा समूहको पन्चेबाजा, वडा नम्बर ५ मा रहेको समूहको कौरा नृत्य, वडा नं ३ मा रहेको समाजसेवी नारी तथा आमा समूहको स्वागत गीतका साथमा दिव्य एकेडेमी र नेक्सस मन्टेश्वरी स्कुलका विद्यार्थीहरूको देशभक्तिपूर्ण नृत्य प्रस्तुत गरिएको थियो।
-1767082662.jpeg)
सम्मान तथा पुरस्कार
देवचुली नगर अस्पतालको समुद्घाटन कार्यक्रममा अस्पताल निर्माणका लागि विगतदेखि वर्तमानसम्म सहयोग गर्ने विभिन्न व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा अस्पतालका पूर्व कार्यालय प्रमुखहरू र वर्तमान कार्यालय प्रमुख डा. कमलराज न्यौपानेलाई सम्मान गरिएको थियो। यसैगरी साविक दिव्यपुरी गाविस, देवचुली गाविस, सिसवार गाउँ पञ्चायत, दिव्यपुरी गाउँ पञ्चायत, प्रगतिनगर, रजहर, अमरापुरी र पिठौली गाविसका पूर्व अध्यक्षहरूलाई समेत सम्मान गरिएको थियो। कार्यक्रममा देवचुली नगरपालिकाका संस्थापक नगरप्रमुख पूर्णकुमार श्रेष्ठ, अस्पतालको जग्गा व्यवस्थापनमा योगदान पुर्याउनुहुने स्वर्गीय खेमराज पौडेलकी धर्मपत्नी मिना पौडेल, अस्पतालको निर्माण कम्पनी सुनकोशी कन्स्ट्रक्सन, मूर्तिकार स्वर्गीय इन्द्रप्रसाद तिवारीको परिवारजन, देवचुली नगरपालिकाका लेखा अधिकृत नारायण ढकाल लगायत अन्य दानदाता तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा अस्पतालमा कार्यरत सि.अ.हे.व गणेश न्यौपानेलाई अस्पतालको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
-1767082658.jpeg)
-1767082658.jpeg)
देवचुली नगरपालिकाबाट बाजागाजा, झाँकी र नाचगानसहित देवचुली नगर अस्पताल पुगेको शोभायात्रा सहितको अस्पताल समुद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाको स्वागत मन्तव्य रहेको थियो । नगरपालिकाका स्वास्थ्यकर्मीहरूको स्वागत नृत्य रहेको कार्यक्रमको सहजीकरण नगरपालिकाका लेखा अधिकृत नारायण ढकालले गर्नुभएको थियो। देवचुली नगर अस्पताल २०७८ सालमा निर्माण सुरु भई २०८२ साल असोज २९ गते निर्माण सम्पन्न भएको थियो।