देवचुली
देवचुली नगरपालिकाको गौरवको रुपमा आयोजना हुँदै आएको मेयर कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण आज शनिबार देखि सुरु भएको छ। देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा देवचुली १ को दिब्य धाम परिसरको देबि गैरा खेलमैदानमा आज देखि खेल सुरु भएको हो।

आगामी पौष २६ गते सम्म संचालन हुने ५ औं मेयर कप फुटबल प्रतियोगिता २०८२ को पहिलो दिनको उद्घाटन सत्र युवा तथा खेलकुद विकास समिति देवचुलीका अध्यक्ष दीपकचन्द्र भट्टराईको अध्यक्षता सँगै देवचुली नगरपालिकाका मेयर हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हरि प्रसाद न्यौपानेले देवचुली नगरपालिकामा संचालन हुने यस्तो प्रतियोगिताले नगर भित्रका प्रतिभावान खेलाडीहरुलाई आफ्नो खेल कौशल देखाउने अवसर मिल्ने भएकाले यसको निरन्तरता र सफलताको शुभकामना ब्यक्त गरेका थिए।

युवा तथा खेलकुद विकास समिति देवचुली १ को सह आयोजना रहेको प्रतियोगिताको उद्घाटन खेलमा देवचुली १ रातोले जित निकालेको छ। आज भएको खेलमा देवचुली ३ लाई २-० गोल अन्तरले पराजित गर्दै देवचुली १ रातोले खेल आफ्नो पक्षमा पारेको देवचुली नगर युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश काफ्लेले हेर्नेपाटीलाई जानकारी दिएका छन्।

काफ्लेका अनुसार देवचुली नगरपालिका भित्रका १६ वटा समूह बीच हुने प्रतियोगितामा क्रमश बिजेता तथा उप बिजेता समुहले १ लाख १ हजार १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। यो संगै सेमिफाइनल सम्मको यात्रा तय गर्ने दुई समुहले जनही १५/१५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई ट्रफी तथा स्थानीय उत्पादित सामाग्री प्रदान गरिनेछ।

आज सम्पन्न उद्घाटन सत्रमा देवचुली नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु , सिजीका महा प्रवन्धक रामकाजी सिटौला , स्थानिय संघ संस्थाका प्रमुख तथा पदाधिकारी , नगर खेलकुद विकास समिति देवचुलीका पदाधिकारी , खेलकुद विकास समिति देवचुली १ का अध्यक्ष सहित अन्य पदाधिकारी लगायतका व्यक्तित्वको आतिथ्यता रहेको थियो।