कावासोती
प्याब्सन नवलपुरले एसईई २०८१ मा ३.६ जीपीएभन्दा माथि प्राप्त गर्ने नवलपुरका संस्थागत विद्यालयका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कावासोतीमा सम्पन्न कार्यक्रममा विद्यार्थीलाई प्रमाणपत्र, खादा र मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्याब्सन नवलपुरका अध्यक्ष हरिहर अधिकारीले गर्नुभएको थियो भने प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।

सो अवसरमा प्याब्सन गण्डकी प्रदेश इन्चार्ज प्रेम प्रसाद शर्मा सुबेदी, प्रदेश अध्यक्ष प्रकाश खनाल, प्याब्सनका प्राज्ञिक सदस्य भोजराज दाहाल, प्राज्ञिक परिषद सदस्य चिनु रानाभाट, शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठ, कावासोती नगरपालिकाका शिक्षा शाखा प्रमुख राजन पाण्डे तथा पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीको तर्फबाट ब्लु स्टार बोर्डिङ स्कूलकी ४ जीपीए प्राप्त वृन्दा गुप्ताले आफ्नो अनुभव बाँड्दै कडा मेहनत र निरन्तर अभ्यास नै सफलताको मूल चाबी भएको बताइन्। अभिभावकको प्रतिनिधित्व गर्दै सिद्धार्थ आवासीय बोर्डिङ स्कुल कावासोतीका अम्बिका भुसालले शिक्षाको गुणस्तर वृद्धि र विद्यार्थीको प्रेरणाका लागि यस्ता कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउनुभयो।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भिम कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव कान्तमणी चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। यस वर्ष नवलपुर जिल्लाका संस्थागत विद्यालयका ४ जना विद्यार्थीले एसईई परीक्षामा ४.०० जीपीए ल्याएर जिल्लालाई गौरवान्वित बनाएका छन्।

त्यसै अवसरमा प्याब्सन कानुनी विभागमा मनोनीत ढाकाराम भट्टराई, केन्द्रिय प्राज्ञिक परिषद सदस्य भोजराज दाहाल, केन्द्रिय सदस्य दिपक कुँवर, डा. उपाधि प्राप्त लक्ष्मी दवाडी र केन्द्रिय प्राज्ञिक परिषद सल्लाहकार गोपेन्द्र केसरी न्यौपानेलाई पनि सम्मान गरिएको थियो।

शिक्षा क्षेत्रमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई प्रोत्साहित गर्न आयोजित यस सम्मान कार्यक्रमले नवलपुरको शैक्षिक क्षेत्रलाई थप ऊर्जा दिएको विश्वास लिइएको छ भने जिल्लाको शैक्षिक वातावरणमा सकारात्मक ऊर्जा थपेको विश्वास गरिएको छ।