नवलपुरमा आलोक स्मृति राष्ट्रिय म्याराथुन प्रतियोगिता आयोजना हुने भएको छ । प्रजातान्त्रिक योद्धा यादवनाथ न्यौपाने, अर्थात् ‘आलोक’ को सम्झना र योगदानलाई स्मरण गर्दै जिल्ला खेलकुद विकास समितिको आयोजनामा कार्तिक १ गते यो राष्ट्रिय स्तरको म्याराथुन गरिँदैछ ।
सन् १९९३ यता अधुरो रहेको आलोक चक्रपथ निर्माणलाई पूर्णता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । यसै अवसरमा जिल्लावासीलाई खेलकुदमा सहभागी गराउँदै नवलपुरलाई राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य आयोजकले लिएको छ । प्रतियोगितामा सातै प्रदेशबाट दुई–दुई जना गरी १४ जना तथा तीन विभागीय टोलीबाट ६ जना गरी जम्मा २० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
सोही दिन “दौडिन्छ नवलपुर” कार्यक्रम अन्तर्गत करिब सय जना खेलाडी, पूर्व खेलाडी तथा खेलप्रेमीहरुले पनि सहभागी हुनेछन् । म्याराथुन नवदुर्गा प्रादेशिक क्रिकेट मैदान कावासोतीबाट सुरु हुनेछ । दौड नमुना रंगशाला, डण्डा बजार, हुप्सेकोटस्थित यूनाइटेड गोल्डकप खेलमैदान, मध्यविन्दुको चोरमारा बजार, राइनो गोल्डकप खेलमैदान, इटौरा चोक, गोछडा चोक, त्रिभुवनटार हुँदै डण्डाको गैँडा चोकमा पुगेर सम्पन्न हुनेछ । कुल दूरी ४२ दशमलव १९५ किलोमिटर तय गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन् । साथै दुई जना खेलाडीलाई जनही ५–५ हजार रुपैयाँको सान्त्वना पुरस्कार वितरण गरिनेछ । प्रतियोगिता सञ्चालनमा करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनका अनुसार प्रतियोगिता केवल दौड मात्र नभई नवलपुरका धार्मिक र सांस्कृतिक सम्पदा, कला–संस्कृति, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र, अमलटारी र नन्दपुर होमस्टेसहित यस क्षेत्रका पर्यटकीय आकर्षणको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य–सचिव श्रीधर शर्माले पनि आलोक चक्रपथलाई राष्ट्रिय महत्वको परियोजना भन्दै म्याराथुनमार्फत यसलाई अगाडि बढाउने कार्यमा यस प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी वर्षहरूमा अझ ठूलो स्तरमा आयोजना गरिने जानकारी दिनुभयो । यसअघि प्रतियोगिता तयारीबारे जानकारी दिन कावासोतीमा पत्रकार सम्मेलन गरिएको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव श्रीधर शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो ।
त्यस्तै, कावासोती–१२ का वडा अध्यक्ष ध्रुव खनाल, हुप्सेकोट खेलकुद विकास बोर्डका अध्यक्ष भिमबहादुर सुनारी, कावासोती–१६ का वडा सदस्य कृष्ण गिरीसहित जिल्ला खेलकुदका पदाधिकारी तथा पत्रकारको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण जिल्ला खेलकुद विकास समितिका सचिव निरज गौतमले गर्नुभएको थियो ।