कावासोती
सफलता तीव्र इच्छाशक्ति, परिश्रम र निरन्तर प्रयासको फल हो भन्ने कुरालाई नवलपुरको कावासोती नगरपालिका वडा नं. १ की अस्मिता लम्सालले जीवन्त प्रमाणित गरेकी छिन्। उनले एकै पटक संघीय तथा प्रदेश लोकसेवा आयोगद्वारा सञ्चालन भएका पाँच वटा फरक–फरक लिखित परीक्षामा नाम निकालेर उदाहरणीय सफलता हासिल गरेकी हुन्।
सानै उमेरदेखि पढाइमा अत्यन्तै लगनशील अस्मिता गत वर्ष माघ र फागुन महिनामा सञ्चालित विभिन्न लोकसेवा परीक्षामा सहभागी भएकी थिइन्। त्रिभुवन विश्वविद्यालयको कृषि एवं पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पसबाट पशु विज्ञान तथा पशुपालनमा स्नातक तह उत्तीर्ण गरेकी उनले संघीय लोक सेवा आयोगले सञ्चालन गरेको राष्ट्रिय पञ्जीकरण तृतीय श्रेणी पशु चिकित्सक, प्रदेश लोकसेवा आयोग वाग्मतीको आठौं तहको पशु चिकित्सक तथा पशु अधिकृत, र कोशी प्रदेश लोकसेवाको सातौं तह अन्तर्गत पशु विकास अधिकृत र पशु चिकित्सक पदका परीक्षामा सफल परिणाम ल्याएकी हुन्।
यसै साता प्रकाशित पाँचवटै परीक्षाको नतिजामा नाम निकाल्न सफल अस्मिता हाल वाग्मती गाउँपालिकामा भेटेरिनरी प्राविधिक सहायकको रूपमा कार्यरत छिन्। उनले आफ्नो प्रारम्भिक शिक्षा नवलपुर स्थित सिद्धार्थ आवासीय माध्यमिक विद्यालयबाट एसईई सम्म र चितवनको वाल्मीकि शिक्षा सदनबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेकी हुन्।
पाँचवटा प्रतिष्ठित परीक्षामा एकैचोटि नाम निकाल्नु कुनै सामान्य उपलब्धि होइन। यसले उनको अध्ययनशीलता, आत्मविश्वास र कठोर परिश्रमको प्रमाण दिन्छ। अहिले उनी अन्तरवार्ताको तयारीमा तल्लीन छिन् र यस यात्रालाई अझ सफलता तर्फ लैजाने दृढ संकल्पमा छन्।
अस्मिताको यो उपलब्धि न केवल उनको व्यक्तिगत सफलता हो, यो सम्पूर्ण युवाहरुका लागि प्रेरणाको स्रोत पनि बनेको छ। आफ्नो लक्ष्यप्रति समर्पित भएर अघि बढे असम्भव केही छैन भन्ने पाठ उनले नेपाली युवाहरुलाई सिकाएकी छन्।