हुप्सेकोट,जेठ–२४
जिल्ला बाल क्लब नवलपुरले हुप्सेकोट गाउँपालिकासँग बालबालिकाको अधिकार, संरक्षण तथा बालमैत्री स्थानीय शासनसम्बन्धी विषयमा एक महत्वपूर्ण छलफल सम्पन्न गरेको छ। कार्यक्रम जिल्ला बाल क्लब नवलपुरका अध्यक्ष शिशिर आचार्यको अध्यक्षतामा तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा गाउँपालिकाभित्र बालअधिकारको अवस्था, बाल संरक्षण, बालमैत्री स्थानीय शासन प्रवर्द्धन, साथै बालबालिकाप्रति स्थानीय सरकारको लगानी र सहकार्यका विविध पक्षमा व्यापक छलफल गरिएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह राना, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुली, शिक्षा शाखा प्रमुख तेजचन्द्र खनाल, बालकल्याण अधिकृत माधवराज गौतम, बाल सहजकर्ता लक्ष्मण ठाडा मगर, महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा देवी शर्मा, उद्यम विकास सहजकर्ता, सूचना प्रविधि अधिकृत, तथा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल लगायतका व्यक्तिहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष पाण्डेले हुप्सेकोट गाउँपालिका बालबालिकाको समुचित विकास र अधिकार संरक्षणमा सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालमैत्री स्थानीय शासन निर्माणमा पनि गाउँपालिकाको अग्रसरता रहेको स्पष्ट पार्दै, भविष्यमा बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने संघसंस्था तथा सरोकारवालासँग थप परामर्श र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफल कार्यक्रमले स्थानीय तह र बाल संगठनहरूबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। जिल्ला बाल क्लब नवलपुरले यस प्रकारको पहलमार्फत स्थानीय तहमा बालअधिकारप्रतिको संवेदनशीलता अभिवृद्धि गर्दै आएको छ।