देवचुली, बैशाख–३१
नवलपुरको देवचुली नगरपालिकामा रहेको विश्वज्योति माध्यमिक विद्यालयले सामाजिक सुरक्षा कोष लागू गरेको छ। तीन दशकअघि विसं २०५१ सालमा गुणस्तरीय शिक्षा र बालबालिकाको समुज्जवल भविष्यका लागि निजी क्षेत्रबाट सञ्चालित विश्वज्योति माध्यमिक विद्यालयले विद्यालयमा कार्यरत १ सय ३५ जना शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेको छ। जसमा प्रारम्भिक बाल विकासतर्फका २० जना, प्राथमिक तहका ४२ जना, आधारभूत तथा मावि तहका १८ जना गरी ८० जना शिक्षक र ५५ जना गैर शिक्षक गरी १ सय ३५ जना सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। गैर शिक्षकहरूमा प्रशासन शाखाका कर्मचारी, सवारीचालक, सुरक्षा गार्ड, ल्याब, लाइब्रेरी, कम्प्युटर कक्षा र कार्यालय सहयोगी लगायतका रहेका छन् । विद्यालयले शैक्षिक सत्र २०८२ को सुरुवातबाट नै विद्यालयका शिक्षक कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई उनीहरूको सुनिश्चित भविष्य र विद्यालयको सामाजिक उत्तरदायित्वलाई कायम गरेको हो। नेपाल सरकारले लागू गरेको कार्यक्रम कार्यान्वयन गर्नु आँफूहरूको दायित्व हो भन्ने सम्झेर विद्यालयमा सामाजिक सुरक्षा कोष लागू गरिएको विद्यालयका प्रिन्सिपल डा।प्रदिप बास्तोलाले जानकारी दिनुभयो । उहाँले सामाजिक सुरक्षा कोषमा आबद्ध शिक्षक कर्मचारीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना र असक्त सुरक्षाको सुविधा, आश्रित परिवार सुरक्षाका सुविधा तथा वृद्धावस्था सुरक्षाको सुविधा लगायतका सुविधाहरू प्राप्त गर्ने जानकारी दिनुभयो ।


सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि शिक्षक कर्मचारीहरूको तलबबाट ११% र विद्यालयले २०% थपेर कुल ३१% रकम शिक्षक कर्मचारीहरूको खातामा जम्मा हुनेछ। त्यसरी जम्मा भएको रकमलाई छुट्टाछुट्टै योजनामा बाँडिन्छ । वृद्धावस्था सुरक्षा योजनामा २८.३३% रकम जम्मा गरिन्छ, जसमध्ये अवकाश योजनामा ८.३% र पेन्सन योजनामा २०% रकम राखिन्छ । बाँकी रहेको रकमबाट १.४% दुर्घटना तथा अशक्त सुरक्षा योजनाका लागि छुट्याइन्छ । त्यस्तै १% औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा राखिन्छ। बाँकी रहेको ०.२७% आश्रित परिवारको सुरक्षा योजनाको लागि छुट्याइने सामाजिक सुरक्षा कोषका पोखरा सम्पर्क कार्यालयका अधिकृत रमेश ढुंगेलले जानकारी दिनुभयो । योगदानकर्ताले ६० वर्ष पुगेपछि अवकाश हुँदा वा निजको रोजगारी अन्त्य भएको अवस्थामा सामाजिक सुरक्षा कोषबाट रकम झिक्न मिल्नेछ। यसअघि रकम झिक्नका लागि ६० वर्ष पुग्नै पर्ने बाध्यात्मक परिस्थिति रहेकोमा नेपाल सरकारले सो बाध्यत्मक परिस्थितिलाई संशोधन गरेको छ। साथै योगदानकर्ताको मृत्यु भएको अवस्थामा जम्मा भएको रकम र सो रकमबाट प्रतिफल हकवाला व्यक्तिले एकमुष्ट रुपमा पाउनेछ। सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताले ऋण रकम समेत प्राप्त गर्न सक्नेछन । जसका लागि योगदान रकम जम्मा गर्न थालेको तीन वर्ष पूरा भएको हुनुपर्नेछ।

अवकाश योजना र निर्वृत्तिभरण (पेन्सन) योजना अन्तर्गत जम्मा भएको कुल २८% रकमको ८०% सम्म सापटी रकम पाइने ढुङ्गेलले जानकारी दिनुभयो। उहाँले नेपाल सरकारले सामाजिक सुरक्षा कोष योजनालाई वर्तमान परिपेक्षमा अभिमुखीकरणको चरणमा रहेकाले केही वर्षभित्रै सम्पूर्ण संघसंस्थाहरु अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने बताउनुभयो । ढुंगेलका अनुसार देवचुली नगरपालिकाका १ सय ३ जना, गैंडाकोट इङ्ग्लिस स्कुलका १ सय ६० जना, नवलपुर एकेडेमीका ८० जना र लुम्बिनी आवासीय माविका ६० जना पनि हालसालै सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।