देवचुली नगरपालिकाले बुधबार अपाङ्गता भएका व्यक्तिहरुको ३४औँ अन्तर्राष्ट्रिय दिवस विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमसहित मनाएको छ। ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिमा सबैको सहभागिता’ भन्ने नारालाई उजागर गर्दै देवचुली–१३ स्थित साहारा पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो।
दिवसका मुख्य कार्यक्रमहरू देवचुली नगरपालिका सामाजिक विकास समितिकी संयोजक भूमिसरा थापाको अध्यक्षता र अपाङ्गता समन्वय समिती देवचुलीका संयोजक तथा देवचुली नगरपालिकाकी उप–प्रमुख पार्वता तिवारीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, युवा तथा खेलकुद विकास समितिका पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नगरका अपाङ्गता भएका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति थियो।
फोटोः राजु चापागाँई

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख विमला लम्सालले जानकारी दिएअनुसार दिवसमा छैंटो फुटाउने, म्युजिकल चियर, व्हिलचियर दौड तथा चित्रकला प्रतियोगिता गरिएका थिए। छैंटो फुटाउनेमा लिला खड्का, लक्ष्मी कार्की र केशव खनाल क्रमशः प्रथम, द्वितीय र तृतीय बने। म्युजिकल चियरतर्फ सृष्टि काफ्ले प्रथम, अशोक भट्टराई द्वितीय, लक्ष्मी कार्की तृतीय तथा लिला सापकोटा सान्त्वना बने।
त्यस्तै, व्हिलचियर दौडमा मोहन गिरी प्रथम, गितादेवी बरुवाल द्वितीय र विक्रम राना तृतीय भएका थिए। चित्रकला प्रतियोगितामा इच्छा वरुवालले प्रथम स्थान प्राप्त गर्दा नविना भट्टराई, प्रिया अर्जेल र पुजा रानाभाट क्रमशः द्वितीय, तृतीय र सान्त्वना बने। सबै विजेताहरूलाई नगद पुरस्कार तथा मेडल प्रदान गरिएको थियो।
करिब १०० जना भन्दा बढी अपाङ्गता भएका व्यक्तिको सहभागितामा सम्पन्न कार्यक्रममा उद्घाटन सत्रको सहजीकरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी निर्मला पौडेलले गरेकी थिइन्।