कावासोती
आगामी चैत्र ७ गतेबाट १९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइइको पूर्व सन्ध्यामा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई नवलपुरको आयोजनामा एसइइका केन्द्राध्यक्षहरूको लागि कावासोतीको शिव नमुना माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिपेन्द्रराज श्रेष्ठले एसइइ परीक्षालाई मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि परीक्षा केन्द्रहरू र केन्द्राध्यक्षहरूको भूमिका तथा परीक्षामा सम्मिलित अन्य सरोकारवालाहरूको काम कर्तव्यका बारेमा प्रष्ट पार्नुभएको थियो। सो अवसरमा उहाँले एसइइ परीक्षालाई जिल्लाका हरेक परीक्षा केन्द्रहरूमा भय रहित र विद्यार्थीहरूको मनोविज्ञानमा असर नपर्ने गरी परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुलाई आग्रह गर्नुभयो ।

सो कार्यक्रममा विभिन्न विद्यालयलाई प्रतिनिधित्व गर्नुभएका केन्द्राध्यक्षहरूले परीक्षा सञ्चालन गर्दै गर्दाका समस्या, चुनौती र अप्ठ्याराहरूको बारेमा आ-आफ्ना धारणा राख्नुभएको थियो। सो अवसरमा केन्द्राध्यक्षहरुले परीक्षाका बेलामा विद्यार्थीहरुलाई थप उत्तरपुस्तिकाका उपलब्धता, प्राविधिक र साधारण धारतर्फका परीक्षाहरूमा हुने जटिलता, परीक्षा सञ्चालनका लागि सरकारले उपलब्ध गराउने बजेटको अभाव तथा अन्य विभिन्न हुने गरेका समस्याहरूको बारेमा औल्याउनु भएको थियो । केन्द्राध्यक्षहरूले विद्यार्थीको मनोभावनामा दखल पुग्ने गरि अनावश्यक अनुगमन तथा अनपेक्षित व्यक्तिहरूको प्रवेशमा रोक लगाउनुपर्ने, विद्यार्थीहरूलाई पर्याप्त नभएका शैक्षिक सामग्रीहरू विद्यालयले व्यवस्था गर्नुपर्ने, छात्राहरूको लागि सेनेटरी प्याडको उपलब्धता सहज हुनुपर्ने र पछिल्लो समय परीक्षाका बेलामा हुने अवान्छित क्रियाकलापका लागि सुरक्षा र निगरानी थप कडाई गर्नुपर्ने बताउनुभयो ।

उठेका सवाल र जिज्ञासाहरूमा प्रष्ट पार्नुहुँदै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख श्रेष्ठले नवलपुर जिल्ला हरेक वर्ष मर्यादित रुपमा परीक्षा गराउने जिल्लाका रुपमा रहेकाले खासै समस्या नदेखिने बताउनुभयो। उहाँले केही परीक्षा केन्द्रहरूमा देखिने समस्याहरूलाई विद्यालय, परीक्षा केन्द्र, शिक्षा समन्वय इकाई तथा जिल्ला परीक्षा समितिको संयुक्त पहलमा तत्काल समाधान गरिने बताउनुभयो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले हरेक परीक्षा केन्द्रहरूमा सुरक्षाकर्मीहरूको पर्याप्त उपलब्धता हुने बताउनुहुँदै शान्ति सुरक्षाका हिसाबले ढुक्क भएर परीक्षा सञ्चालन गर्न शिक्षा विकास तथा समन्वय इकाई तथा केन्द्रध्यक्षहरुलाई अनुरोध गर्नुभयो। कार्यक्रममा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप-अनुसन्धान अधिकृत अशोकराज भट्ट, सशस्त्र प्रहरी नायब उपरिक्षक बिनोद कार्की लगायत विभिन्न केन्द्राध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण जिल्ला शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका परीक्षा शाखा प्रमुख सन्तोषी भण्डारीले गर्नुभएको थियो ।

यस वर्ष नवलपुर जिल्लामा ८६ वटा सामुदायिक विद्यालयका ४ हजार ७ सय ९२, ४९ वटा संस्थागत विद्यालयका १ हजार ३ सय ५५, ५ वटा गुरुकुलका ३२ जना, ८ वटा प्राविधिक धारका विद्यालयका २ सय ६ जना र १ खुल्ला विद्यालयका ६५ जना गरी कुल ६ हजार ४ सय ८२ जना विद्यार्थीहरू एसइइ परीक्षामा सामेल हुँदैछन्। जसमा छात्रको सङ्ख्या ३ हजार २ सय ३५ र छात्राको सङ्ख्या ३ हजार २ सय ४७ जना रहेका छन्। यस वर्ष नियमितर्फ ५ हजार ८ सय २६ जना र ग्रेड वृद्धितर्फ ६ सय ५६ जना विद्यार्थीहरु परीक्षामा सामेल हुँदैछन्। जिल्लामा एसइइ परीक्षा सञ्चालन गर्नका लागि २८ परीक्षा केन्द्र तोकिएको छ जसमा गैंडाकोट नगरपालिकामा ४ वटा, देवचुली नगरपालिकामा ५ वटा, कावासोती नगरपालिकामा ७ वटा, मध्यबिन्दु नगरपालिकामा ५ वटा, विनयी त्रिवेणी गाउँपालिकामा २ वटा, हुप्सेकोट गाउँपालिकामा ३ वटा, बौदीकाली गाउँपालिकामा एउटा र बुलिङ्टार गाउँपालिकामा एउटा परीक्षा केन्द्र रहनेछन्।

यस वर्ष नवलपुर जिल्लामा एसइइ परीक्षामा सबैभन्दा धेरै विद्यार्थी सङ्ख्या सहभागी गराउने विद्यालयमा देवचुली नगरपालिकाको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय अगाडी रहेको छ। यो वर्ष भीमसेनका २ सय ३८ जना विद्यार्थीहरूले एसइइ परीक्षामा सहभागी हुँदैछन्। यसैगरी जिल्लामा सबैभन्दा थोरै विद्यार्थी संख्या सहभागी गराउने विद्यालयमा गैडाकोट नगरपालिकाको श्रीमद् रामानुज वेद विद्याश्रम रहेको छ। जसका तीनजना विद्यार्थीहरू एसइइ परीक्षामा सामेल हुँदैछन्। जिल्लामा सबैभन्दा धेरै विद्यार्थी सहभागी हुने परीक्षा केन्द्र भने विनयी त्रिवेणी गाउँपालिकाको भानुदय माध्यमिक विद्यालय रहेको छ। जसमा ४ सय ३३ जना विद्यार्थीहरूले एसइइ परीक्षा दिँदैछन् भने सबैभन्दा थोरै हुप्सेकोट गाउँपालिकाको मौलाथरमा रहेको हुप्सेकोट माध्यमिक विद्यालय रहेको छ। जहाँ ४७ जना विद्यार्थीहरूले एसइइ परीक्षा दिँदैछन् ।